
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि उत्पन्न संकट व्यवस्थापनका लागि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल थालेका छन् ।
प्रधानमन्त्री शाहले सोमबार प्रधान सेनापति अशोकराज सिग्देलसँग भेट गरी बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत वितरण र समग्र व्यवस्थापनको अवस्थाका बारेमा जानकारी लिएका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधान सेनापति सिग्देलले हालसम्म नेपाली सेनाबाट भइरहेको उद्धार तथा राहतसम्बन्धी काम र संकट व्यवस्थापनका लागि चालिएका कदमका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवालगायत प्रभावित क्षेत्रमा खोज तथा उद्धार र राहतको कामलाई प्रभावकारी बनाउन सुरक्षा निकाय परिचालन भइरहेका छन् । प्रधानमन्त्री शाहले सोमबार नै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग पनि छलफल गर्ने तयारी गरेका छन् ।
उनले सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेल तथा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग बाढीपछिको अवस्था, उद्धार तथा राहत कार्य र आगामी व्यवस्थापनका विषयमा छुट्टाछुट्टै ब्रिफिङ लिने बताइएको छ ।



















