
काठमाडौं । भोटेकोशीको विनाशकारी बाढीपछि अष्ट्रेलिया सरकारले मानवीय सहायता तथा विपद् राहतका लागि थप सहयोग अघि बढाएको छ । अष्ट्रेलियाली रक्षा बलले विदेश मामिला तथा व्यापार विभागसँगको समन्वयमा रोयल अष्ट्रेलियन एयर फोर्सको सी–१७ ए ग्लोबमास्टर–३ विमानमार्फत मानवीय सहायता तथा विपद् राहत सामग्री, आवश्यक उपकरण र जनशक्ति नेपाल पठाउने भएको हो ।
सी–१७ ए विमान आगामी केही दिनभित्र अष्ट्रेलियाबाट नेपालका लागि प्रस्थान गर्ने नेपालस्थित अष्ट्रेलियाली दूतावासले जनाएको छ । अष्ट्रेलिया सरकारले बाढीपछि उद्धार तथा पुनःस्थापनाका लागि जारी सहयोगअन्तर्गत थप ३० लाख अष्ट्रेलियन डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने भएको छ । यो अष्ट्रेलियाले नेपालका बाढी प्रभावितका लागि घोषणा गरेको दोस्रो चरणको मानवीय सहायता हो ।
यसअघि अष्ट्रेलिया सरकारले नेपालका बाढी प्रभावितका लागि ५० लाख अष्ट्रेलियन डलर बराबरको मानवीय सहायता घोषणा गरिसकेको थियो ।
यसैबीच, बाढीपछि ४२ जना अष्ट्रेलियाली नागरिक अझै सम्पर्कविहीन रहेको अष्ट्रेलियाको रक्षा मन्त्रालयले जनाएको छ ।

























