
विराटनगर । विराटनगर महानगरपालिका–३ कञ्चनबारीस्थित आर्या न्युरो अस्पतालले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि १ लाख १ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
अस्पतालले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ । विपद्का कारण प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरिएको अस्पताल प्रशासनले जनाएको हो ।
अस्पतालका अनुसार विपद्का समयमा प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि राज्य तथा विभिन्न निकायसँगै निजी क्षेत्रको समेत योगदान आवश्यक हुन्छ । सोही जिम्मेवारीलाई ध्यानमा राख्दै अस्पतालले आफ्नो क्षमताअनुसार कोषमा रकम उपलब्ध गराएको हो ।
बाढीबाट प्रभावित समुदायप्रति सहानुभूति व्यक्त गर्नु मात्रै पर्याप्त नभई संकटको समयमा आवश्यक सहयोग उपलब्ध गराउनु सामाजिक जिम्मेवारी भएको अस्पतालको भनाइ छ । अस्पतालले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यक सहयोग तथा मानवीय सेवाका क्षेत्रमा आफ्नो भूमिका निर्वाह गर्ने जनाएको छ ।

























