
काठमाडौं । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ ।
लिपिङ क्षेत्रमा बाढी तथा पहिरोको जोखिम बढ्दै गएपछि चिनियाँ पक्षले तातोपानी नाकाबाट हुने व्यापारिक गतिविधि रोक्ने निर्णय गरेको हो । नाका बन्द भएसँगै चीनबाट स्थलमार्ग हुँदै नेपालतर्फ हुने सामानको आयात प्रभावित हुने भएको छ ।
ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी निरौलाका अनुसार लिपिङ क्षेत्रमा पहिरोको जोखिम कायम रहेसम्म चिनियाँ पक्षले व्यापारिक आवतजावत खुलाउने सम्भावना कम छ । जोखिमको अवस्था सामान्य भएपछि मात्रै व्यापारिक गतिविधि पुनः सञ्चालन हुने अपेक्षा गरिएको छ ।
यद्यपि, नाका पूर्ण रूपमा बन्द भए पनि यात्रुहरूको आवतजावत भने जारी रहने जनाइएको छ । भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण रसुवागढी नाका पनि प्रभावित भएको छ । बाढीले रसुवागढीको टिमुरे बजार, भन्सार कार्यालय तथा अध्यागमन कार्यालयमा समेत क्षति पुर्याएको छ ।
नेपाल–चीनबीचको प्रमुख दुई स्थल नाका रसुवागढी र तातोपानी दुवैबाट व्यापारिक गतिविधि प्रभावित भएपछि चीनसँगको व्यापारका लागि कोरला नाका मात्रै सञ्चालनमा रहने अवस्था बनेको छ । तातोपानी नाका बन्द भएपछि त्यसबाट हुने आयात–निर्यातमा निर्भर व्यवसायी तथा व्यापारीहरू थप प्रभावित हुने देखिएको छ ।



















