
विराटनगर । मोरङमा अवैध रूपमा ढुंगा र बालुवा उत्खनन तथा ओसारपसारमा प्रयोग भएका पाँचवटा ट्र्याक्टरलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस उर्लाबारीबाट खटिएको गस्ती टोलीले उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकाका विभिन्न खोलाबाट नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गरिरहेका ट्र्याक्टरलाई सोमबार नियन्त्रणमा लिएको हो । गस्ती टोलीले उर्लाबारी नगरपालिका–२ स्थित सुनझोडा खोलाबाट ढुंगा लोड गरी ल्याउँदै गरेको प्रदेश १–०४–००१ त ०३४२ नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिएको छ ।
त्यस्तै, उर्लाबारी नगरपालिका–१ सिमानाको बस्तीस्थित मावा खोलामा बालुवा उत्खनन गरिरहेको प्रदेश १–०२–००३ त १३५५ नम्बरको ट्र्याक्टर पनि नियन्त्रणमा लिइएको सशस्त्रले जनाएको छ । यसैगरी, मिक्लाजुङ गाउँपालिका–७ मलामी टहरा क्षेत्रमा पर्ने बक्राहा खोलाबाट मे १ त ४७७६, मे १ त ५३३२ र प्रदेश १–०२–००३ त १३ नम्बरका ट्र्याक्टरहरू नियन्त्रणमा लिइएको छ ।
नियन्त्रणमा लिइएका ट्र्याक्टरलाई आवश्यक कारबाहीका लागि उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकाको कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीले बताए । नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसार नियन्त्रणका लागि गस्ती तथा निगरानीलाई थप प्रभावकारी बनाइने जानकारी उनले दिए ।



















