एउटै घरमा भेटिए २४ शव

Share this
771shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १६, मंगलबार ०८:०४

काठमाडौं । नुवाकोटको बेत्रावतीमा बाढीपछि गरिएको खोजीका क्रममा एउटै घरभित्र २४ वटा शव फेला परेका छन् ।

विदुर नगरपालिका–१० स्थित बेत्रावतीमा सोमबार खोजी गर्ने क्रममा एउटा घरभित्र ठूलो संख्यामा शव भेटिएको नुवाकोटका प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए । उनका अनुसार घरभित्र अझै खोजी गर्नुपर्ने अवस्था रहेकाले मंगलबार पनि उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिइनेछ ।

Advertisement

एकै घरमा यति ठूलो संख्यामा शव भेटिएपछि उक्त घरमा को–को थिए भन्ने विषयमा समेत प्रहरीले अनुसन्धान थालेको छ । एसपी रेग्मीका अनुसार उक्त घरको वास्तविक पहिचान र त्यहाँ मानिसहरू कसरी जम्मा भएका थिए भन्ने बारेमा अहिले नै यकिन भइसकेको छैन । घर होटल वा गेस्ट हाउस हुन सक्ने देखिए पनि त्यसको पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

घरधनी तथा स्थानीय जनप्रतिनिधिसँग सम्पर्क गरेर घटनाका बारेमा थप विवरण संकलन गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । बेत्रावतीका वडाध्यक्षसँग समेत तत्काल सम्पर्क हुन नसकेको प्रहरीको भनाइ छ ।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटसहित आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति गरेको छ । बाढीका कारण धेरै मानिस बेपत्ता भएपछि विभिन्न स्थानमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा खोजी तथा उद्धार अभियान सञ्चालन गरिरहेका छन् ।

बाढीपछि विभिन्न स्थानमा शव फेला पर्ने क्रम जारी रहेकाले मृतक तथा बेपत्ताको संख्या अझै बढ्न सक्ने सुरक्षा निकायले जनाएको छ । बेत्रावतीमा एउटै घरबाट २४ शव भेटिएपछि घटनाको थप विवरण पहिचान तथा अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×