नारायणीमा थप शव भेटिए, संख्या १३ पुग्यो

Share this
596shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १६, मंगलबार ०९:१६

काठमाडौं । नेपालमा आएको बाढीपछि भारतको उत्तर प्रदेशस्थित कुशीनगर हुँदै बग्ने नारायणी (गण्डक) नदीमा शव भेटिने क्रम जारी छ । भारतीय प्रशासनका अनुसार हालसम्म नदीबाट १३ वटा शव बरामद भएका छन् ।

बरामद शवमध्ये ६ जना पुरुष र ७ जना महिला रहेको कुशीनगर प्रशासनले जनाएको छ । ठाउँको अभाव भएपछि ६ वटा शव कुशीनगर मेडिकल कलेजको शवगृहमा र ७ वटा शव गोरखपुरस्थित एम्समा राखिएको छ ।

Advertisement

नदीमा थप शव हुन सक्ने आशंकामा भारतीय एसडीआरएफ र एनडीआरएफका टोलीले खोजी तथा उद्धार अभियान जारी राखेका छन् । जिल्ला अधिकारी तथा प्रमुख विकास अधिकारी वन्दिता श्रीवास्तवका अनुसार शवको पहिचान तथा व्यवस्थापनका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।

प्रशासनले नेपालका सम्बन्धित अधिकारीसँग समन्वय गरिरहेको छ भने भारतीय विदेश मन्त्रालयमार्फत पनि शवबारे नेपाललाई जानकारी गराइरहेको छ । प्रशासनका अनुसार पोस्टमार्टमलगायत आवश्यक प्रक्रिया पूरा भएपछि शव नेपाललाई हस्तान्तरण गरिनेछ । त्यसपछि पहिचान गरी सम्बन्धित परिवारलाई बुझाउने प्रक्रिया अघि बढाइनेछ ।

यसैबीच, आफन्तको खोजीमा कुशीनगर पुग्ने नेपाली नागरिकलाई आवश्यक सहयोग गर्न जिल्ला प्रशासनले नियन्त्रण कक्षसमेत स्थापना गरेको जनाएको छ । बरामद भएका शव नेपालमा आएको बाढी तथा विशेषगरी रसुवा क्षेत्रमा आएको बाढीपहिरोले बगाएर भारत पुगेको हुन सक्ने आशंका गरिएको छ । शवको पहिचान भएपछि मात्र उनीहरूको वास्तविक परिचय र घटनाको यकिन विवरण खुल्नेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×