इनिसा हत्या प्रकरण : तीन बालकलाई थुनामुक्त गर्न आदेश

Share this
794shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १६, मंगलबार २१:१८

काठमाडौं । सर्वोच्च अदालतले सुर्खेतकी इनिसा विकको बलात्कारपछि हत्या भनिएको प्रकरणमा कानुनी विवादमा परेका तीन बालकलाई थुनामुक्त गर्न आदेश दिएको छ। आज (मंगलबार) न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले सुर्खेत जिल्ला अदालत र उच्च अदालत सुर्खेतको आदेश बदर गरेको हो।

सर्वोच्चको यो आदेशसँगै परिवर्तित नाम वीरेन्द्रनगर (ध), वीरेन्द्रनगर (फ) र वीरेन्द्रनगर (न) लाई अभिभावकको जिम्मामा छाडेर मुद्दाको कारबाही अघि बढाउन बाटो खुलेको छ। अर्का आरोपित परिवर्तित नाम वीरेन्द्रनगर (प) को हकमा भने कुनै आदेश भएको छैन।

Advertisement

यसअघि सुर्खेत जिल्ला अदालतले १७ चैत २०८२ मा मुख्य आरोपितसहित चारै जनालाई थुनछेक आदेशमार्फत बाल सुधार गृह पठाउने आदेश दिएको थियो। सोही आदेशलाई उच्च अदालत सुर्खेतले २४ बैशाख २०८३ मा सदर गरेको थियो। दुवै अदालतका आदेशविरुद्ध वीरेन्द्रनगर (ध), (फ) र (न) का अभिभावक पुनरावेदन लिएर सर्वोच्च पुगेका थिए।

बालकहरुले प्रहरी समक्ष र अदालतमा बयान दिँदा आफूमाथि लागेको आरोप पूर्णरुपमा अस्वीकार गरेको, मुद्दाका मुख्य आरोपित बालक वीरेन्द्रनगर (प) ले यी तीन जना बालकहरुलाई घटनामा संलग्न रहेको भनी पोल नगरेको, घटनास्थल आसपासका सिसीटिभी फुटेजहरुको विश्लेषणका आधारमा सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएको हो।

बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा २४ को उपदफा (२) को खण्ड (ख) बमोजिम पुर्पक्षका लागि बालसुधार गृहमा नै राख्नु पर्ने अवस्था विद्यमान नरहेको सर्वोच्चको आदेशमा उल्लेख छ। ती बालकहरुलाई उनीहरुका बाबु, आमा वा परिवारका व्यक्तिको जिम्मा लगाई मुद्दाको कारबाही अघि बढाउन आदेश दिइएको छ।

तत्काल थुनामुक्त भए पनि सुर्खेत जिल्ला अदालतमा जारी मुद्दा किनारा नलागुञ्जेल अदालतले खोजेका बखत अनिवार्य रुपमा उपस्थित गराउनु पर्ने र अदालतको पूर्व अनुमति नलिई देश बाहिर जान नपाउने आदेश सर्वोच्चले दिएको छ।

गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी १६ वर्षकी इनिसा वीरेन्द्रनगर नगरपालिका–१ मा परिवारका साथ बस्दै आएकी थिइन्। २०८२ फागुन २३ गते बिहान ६ बजे नै ट्युसन जाने भन्दै घरबाट निस्किएकी उनी बिहान ९ बजेतिर वीरेन्द्रनगर नगरपालिका–४ को उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन्। ‎प्रहरीले उनलाई प्रदेश अस्पताल पुर्‍याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए। सोही दिन प्रहरीले घटनास्थलबाट उनका प्रेमी भनिएका आरोपित १६ वर्षे नाबालक वीरेन्द्रनगर (प) लाई नियन्त्रणमा लिएको थियो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×