
काठमाडौं । सरकारले यस वर्ष मनाउन लागेको २३औँ निजामती सेवा दिवसका सम्पूर्ण निर्धारित कार्यक्रम रद्द गर्ने निर्णय गरेको छ। निजामती सेवा दिवस मूल समारोह समितिका अध्यक्ष तथा मुख्य सचिवको अध्यक्षतामा मंगलबार बसेको बैठकले कार्यक्रम रद्द गर्ने निर्णय गरेको हो।
गत भदौ १० गते बिहान नेपाल–चीन सीमाक्षेत्र रसुवागढीमा आएको भीषण बाढीबाट उत्पन्न विषम परिस्थितिका कारण मुलुक शोकमा रहेका बेला दिवसका कार्यक्रम नगर्ने निर्णय गरिएको हो।
राष्ट्रसेवक कर्मचारी तथा सुरक्षाकर्मीहरू खोज, उद्धार, राहतलगायत विपद् व्यवस्थापनका काममा निरन्तर खटिइरहेका छन्। यही अवस्थालाई ध्यानमा राख्दै भदौ ५ गतेको निर्णयअनुसार भदौ २२ गते मनाउन लागिएको निजामती सेवा दिवसका सबै कार्यक्रम रद्द गरिएको हो।
दिवस मनाउन विनियोजित बजेट भने भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्थ मन्त्रालयसँग समन्वय गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको छ।

























