‘बाढी प्रभावित क्षेत्रमा खाना, पानी र स्वास्थ्य सेवाको अभाव’

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १६, मंगलबार २२:१८

काठमाडौं । संयुक्त राष्ट्रसंघले रसुवामा भदौ १० गते आएको विनाशकारी बाढी प्रभावित क्षेत्रमा मानवीय सहायताको आवश्यकता बढ्दै गएको जनाएको छ। मंगलबार साँझ जारी विज्ञप्तिमा बाढी प्रभावितले पर्याप्त खाना, सुरक्षित खानेपानी र स्वास्थ्य सेवामा पहुँच पाउन नसकेको उल्लेख गरिएको छ।

संयुक्त राष्ट्रसंघीय महिला तथा लैङ्गिक समानतासम्बन्धी निकायकी एसिया तथा प्रशान्त क्षेत्रीय निर्देशक क्रिस्टिन अरबले गर्भवती, स्तनपान गराइरहेका महिला तथा अपाङ्गता भएका व्यक्ति विपद्मा सबैभन्दा बढी जोखिममा पर्ने बताएकी छन्। उनका अनुसार यस्ता समूहका कतिपय व्यक्ति बाढीसँगै बगेका छन् भने बाँचेकाहरूमा पनि खाद्यान्न र सुरक्षित खानेपानीको अभाव बढ्दै गएको छ।

Advertisement

रसुवाका अधिकांश परिवारमा पुरुष रोजगारीका लागि विदेश जाने भएकाले प्रत्येक तीनमध्ये एक घरमा महिला घरमुली रहेको विज्ञप्तिमा उल्लेख छ।

विश्व स्वास्थ्य संगठनका प्रवक्ता क्रिस्टियन लिन्डमायरले तत्काल उद्धार र राहतसँगै विपद्पछिको जनस्वास्थ्य संकट नियन्त्रणमा पनि ध्यान दिनुपर्ने बताएका छन्। बाढी, विस्थापन, भीडभाड र जमेको पानीका कारण डेंगु, स्क्रब टाइफससहित अन्य संक्रामक रोग फैलिने जोखिम रहेकाले निरन्तर स्वास्थ्य निगरानी आवश्यक रहेको उनको भनाइ छ।

बाढीबाट प्रभावित क्षेत्रका ६ वटा स्वास्थ्य संस्था क्षतिग्रस्त भएका छन् भने सडक अवरुद्ध हुँदा थप दुई स्वास्थ्य संस्थामा पुग्न सक्ने अवस्था छैन। स्वास्थ्य सेवा सबैभन्दा बढी आवश्यक परेको समयमा नै प्रभावित क्षेत्रमा उपचारको पहुँच कमजोर बनेको संयुक्त राष्ट्रसंघले जनाएको छ।

विज्ञप्तिमा बाढीबाट मृत्यु हुनेको संख्या एक हजार नजिक पुग्दै गर्दा उद्धार तथा राहतमा खटिएका जनशक्तिले समेत कठिन परिस्थितिको सामना गरिरहेको उल्लेख छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×