
काठमाडौं । प्रतिनिधिसभा (संसद)को आज (बुधबार) बस्ने बैठकमा भोटेकोशी नदीको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विशेष प्रस्ताव प्रस्तुत हुने भएको छ ।
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढीका कारण भएको क्षतिका विषयमा विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
प्रस्तावमा २०८३ साल भदौ १० गते बुधबार आएको बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेँसी र बेत्रावती, नुवाकोटको त्रिशूली बजार तथा देवीघाटलगायत क्षेत्रमा ठूलो क्षति भएको उल्लेख गरिएको छ । बाढीका कारण धादिङ, चितवन र गोरखाका त्रिशूली नदी तटीय क्षेत्रमा समेत ठूलो जनधनको क्षति भएको तथा स्वदेशी र विदेशी नागरिकसमेत बेपत्ता र मृत्यु भएकोप्रति प्रतिनिधिसभाले गहिरो दुःख व्यक्त गर्नेछ ।
विशेष प्रस्तावमार्फत बाढीका कारण घरबारविहीन भएकाहरूको उचित व्यवस्थापन गर्न तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिनेछ । साथै, घटनामा ज्यान गुमाएकाहरूको आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति प्रतिनिधिसभाले समवेदना व्यक्त गर्नेछ ।


























