
काठमाडौं । अमेरिकाको टेक्ससस्थित वान स्टेप फाउण्डेसन ड्यालसले बाढी प्रभावित एक हजार महिला तथा बालिकालाई ‘डिग्निटी बक्स’ वितरण गर्ने भएको छ।
दैनिक जीवनका आधारभूत स्वास्थ्य, सरसफाइ र व्यक्तिगत आवश्यकताका सामग्रीबाट प्रभावित महिला तथा बालिकाहरू वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले फाउण्डेसनले दोस्रो चरणको राहतअन्तर्गत डिग्निटी बक्स वितरण गर्न लागेको हो।
फाउण्डेसनले यसअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरिसकेको छ। दोस्रो चरणको अभियानमा करिब ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रत्येक बक्स तयार गर्न करिब ५ हजार रुपैयाँ लाग्ने जनाइएको छ।
फाउण्डेसनका संस्थापक परोपकारी धावक बाल जोशीका अनुसार प्रत्येक बक्समा महिनावारी तथा व्यक्तिगत सरसफाइका सामग्री, भित्री वस्त्र, साबुन, शिशुका डायपरलगायत विपद्का बेला आवश्यक पर्ने आधारभूत सामग्री समावेश गरिनेछ।
खाना र आश्रयजस्तै महिला तथा बालिकाको स्वास्थ्य, सुरक्षा, गोपनीयता र आत्मसम्मानसँग जोडिएका आधारभूत आवश्यकता पनि विपद्का बेला उत्तिकै महत्वपूर्ण हुने जोशीले बताए। ‘हाम्रा आमा, दिदीबहिनी र छोरीहरूको सम्मान, सुरक्षा र स्वास्थ्यको रक्षा गर्नु पनि राहतको महत्वपूर्ण हिस्सा हो,’ जोशीले भने, ‘उनीहरूको कठिन समयमा साथ दिन सक्नु नै हाम्रो मानवीय जिम्मेवारी हो।’
जोशीको नेतृत्वमा फाउण्डेसनको टोली बुधबार अमेरिकाको टेक्ससबाट नेपाल आउने भएको छ। जोशी शुक्रबारदेखि नेपालमै पुगेर राहत तथा उद्धार अभियानमा प्रत्यक्ष सहभागी हुने जनाइएको छ।
डिग्निटी बक्सका सामग्री नेपालमै खरिद तथा प्याकिङ गरी प्रभावित क्षेत्रमा छिटो पुर्याउने तयारी गरिएको छ। नेपाल सरकारसँग समन्वय गरी राहत तथा उद्धारमा सक्रिय सरकारी निकाय तथा टोलीमार्फत बक्सहरू आवश्यक समुदायसम्म पुर्याइने फाउण्डेसनले जनाएको छ।

























