
काठमाडौं। बाढी पूर्वानुमान महाशाखाले रसुवा र नुवाकोट भएर बहने भोटेकोशी, त्रिशूली तथा अन्य स–साना नदीमा आकस्मिक बाढीको उच्च सम्भावना रहेको जनाएको छ। देशमा अरु मुख्य नदीहरुमा पनि आज -बुधबार) पानीको बहाव बढ्ने अनुमान छ।
भदौ १० गतेको बाढीपछि हाल भोटेकोशी र त्रिशूलीको बहाव सतर्कता तहभन्दा तल रहे पनि आगामी तीन दिन प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान रहेकाले उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
नारायणी बेसिनअन्तर्गत त्रिशूलीको बेत्रावती जलमापन केन्द्रमा आज र भोलि जलसतह बढेर जोखिमको तहमा पुग्न सक्ने अनुमान छ। बुढीगण्डकी, मर्स्याङ्दी र सेती नदीमा पनि बहाव बढ्ने जनाइएको छ।
आज देशका विभिन्न जिल्लाका स–साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम छ। विशेषगरी रुकुम पूर्वदेखि कञ्चनपुरसम्मका पश्चिमी जिल्लाका नदीमा बहाव बढेर ‘फ्ल्यास फ्लड’ आउन सक्ने पूर्वानुमान गरिएको छ। भोलि पनि सातै प्रदेशका केही स–साना नदीमा बहाव आकस्मिक बढ्न सक्ने महाशाखाले जनाएको छ।

























