
काँकडभिट्टा । पूर्वी नाका काँकडभिट्टामा हुने तस्करी र आपराधिक गतिविधिमाथि निगरानी बढाउन सशस्त्र प्रहरीले प्रविधिको प्रयोग थालेको छ ।
सीमा क्षेत्रमा खटिने सुरक्षाकर्मीको निगरानीलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरीले बुधबारदेखि शरीरमा जडान गरेर प्रयोग गर्न सकिने ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको हो । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेडक्वार्टर झापाका अनुसार काँकडभिट्टा नाकामा परिचालित ‘बोर्डर इन्टरएक्सन टिम’ (बीआईटी)का सुरक्षाकर्मीलाई दुईवटा गोप्रो क्यामेरा उपलब्ध गराइएको छ । बीआईटीमा खटिएका सुरक्षाकर्मीले सीमा निगरानीका क्रममा ती क्यामेरा प्रयोग गर्न पाउँछन् ।
झापाका सशस्त्र प्रहरी प्रमुख एसपी सचिन कर्माचार्यका अनुसार क्यामेराको प्रयोगले सीमा क्षेत्रमा हुने गतिविधिको प्रत्यक्ष निगरानीसँगै घटनाको भिडियो अभिलेख राख्न सहयोग पुग्नेछ । शंकास्पद गतिविधि देखिएमा त्यसलाई रेकर्ड गरी आवश्यकताअनुसार थप अनुसन्धान तथा कारबाहीका क्रममा उपयोग गर्न सकिने उनले बताए ।
काँकडभिट्टा नेपाल–भारतबीचको प्रमुख आवतजावत तथा व्यापारिक नाका भएकाले यहाँ दैनिक ठूलो संख्यामा मानिस र सवारीसाधनको आवतजावत हुने गर्छ । खुला सीमाका कारण वैध व्यापार र आवतजावतसँगै भन्सार छलेर सामान ओसारपसार गर्ने तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रण गर्नु सुरक्षाकर्मीका लागि चुनौतीपूर्ण बनिरहेको छ ।
यही चुनौतीलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले जनशक्तिको प्रत्यक्ष निगरानीसँगै प्रविधिको प्रयोगलाई पनि जोड दिएको हो । शरीरमा जडान गरेर प्रयोग गर्न सकिने भएकाले गोप्रो क्यामेराले सुरक्षाकर्मीले गस्ती तथा निगरानीका क्रममा देखेका गतिविधिलाई तत्काल भिडियोमा कैद गर्न सक्छ ।
यसले सीमा क्षेत्रमा हुने तस्करी, अवैध ओसारपसार तथा अन्य शंकास्पद गतिविधिको अभिलेख राख्न सहज हुने सशस्त्र प्रहरीको अपेक्षा छ । घटनाको वास्तविक अवस्था बुझ्न तथा आवश्यक परे प्रमाणका रूपमा प्रयोग गर्नसमेत भिडियो रेकर्ड उपयोगी हुने अधिकारीहरूको भनाइ छ ।
एसपी कर्माचार्यले सीमा सुरक्षा र तस्करी नियन्त्रणलाई प्राथमिकतामा राख्दै निगरानी तथा सुरक्षा गतिविधिलाई तीव्र बनाइएको बताए । उनका अनुसार सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि सुरक्षाकर्मीको सक्रियतासँगै स्थानीयबाट प्राप्त सूचनालाई समेत उपयोग गरिँदै आएको छ ।
स्थानीयबाट प्राप्त सूचना र सुरक्षाकर्मीको प्रत्यक्ष निगरानीलाई एकीकृत गरेर सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्ने प्रयास भइरहेको उनको भनाइ छ । काँकडभिट्टा नाकामा पछिल्लो समय सशस्त्र प्रहरीले भन्सार छलेर नेपाल भित्र्याउन खोजिएका विभिन्न सामान नियन्त्रणमा लिँदै आएको छ । कपडा, मोबाइल तथा मोबाइलका पार्टपुर्जा, खाद्यान्नलगायतका सामग्री बरामद हुने गरेका छन् ।
सुरक्षाकर्मीका अनुसार सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणका लागि परम्परागत गस्ती र जनशक्तिको परिचालनसँगै आधुनिक प्रविधिको प्रयोग बढाउँदै लैजाने योजना छ । गोप्रो क्यामेराको प्रयोगले सुरक्षाकर्मीको निगरानीलाई थप व्यवस्थित बनाउनुका साथै सीमा क्षेत्रमा हुने गतिविधिको तथ्यगत अभिलेख राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सशस्त्र प्रहरीले काँकडभिट्टामा सुरु गरेको यो अभ्यासलाई सीमा सुरक्षामा प्रविधिको प्रयोग विस्तार गर्ने प्रारम्भिक कदमका रूपमा लिइएको छ । निगरानीका क्रममा प्रविधिको प्रयोग प्रभावकारी हुँदै गए अन्य संवेदनशील सीमा क्षेत्रमा समेत यस्ता उपकरणको प्रयोग विस्तार गर्न सकिने सुरक्षा अधिकारीहरूको भनाइ छ ।

























