बाढीपीडितलाई स्थानीय तहदेखि कैदीबन्दीसम्मको सहयोग

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १८, बिहीबार ०८:११

झापा । रसुवाको भोटेकोसी बाढीपीडितका लागि विभिन्न स्थानीय तह, जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा कैदीबन्दीले आर्थिक सहयोग गरेका छन् ।

कचनकवल गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख ६ हजार १०० जम्मा गर्ने निर्णय गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काइ पोखरेलका अनुसार उक्त रकम जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी तथा सामुदायिक विद्यालयका शिक्षक–कर्मचारीबाट सङ्कलन गरिएको हो ।

Advertisement

गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट एक लाख, जनप्रतिनिधिबाट ७१ हजार, कर्मचारीबाट नौ लाख २२ हजार ५२४ तथा सामुदायिक विद्यालयका शिक्षक–कर्मचारीबाट १८ लाख १२ हजार ५६७ उपलब्ध गराउने निर्णय गरेको हो ।

यस्तै, रुपन्देहीको ओमसतिया गाउँपालिकाले बाढी प्रभावितको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि  २४ लाख १७ हजार ९०० प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेगरी सहयोग गरेको छ। उक्त रकम गाउँपालिका जनप्रतिनिधि, कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षक–कर्मचारीबाट सङ्कलन गरिएको हो।

यसैगरी, कपिलवस्तु कारागारका ४२२ कैदीबन्दीले प्रधानमन्त्री विपद् राहत कोषका लागि एक लाख एक हजार १११ सङ्कलन गरेका छन् । कैदीबन्दीले व्यक्तिगत रूपमा प्राप्त हुने खर्चबाट रकम छुट्याएर सहयोग गरेको कारागार प्रशासनले जनाएको छ ।

कारागार प्रमुख मानबहादुर सारुका अनुसार कैदीबन्दीले सङ्कलन गरेको रकमको भौचर प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई हस्तान्तरण गरिएको छ । भोटेकोसी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएपछि प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि सहयोग गरिएको सम्बन्धित स्थानीय तह तथा कारागार प्रशासनले जनाएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×