हराए आफन्त : ओभाएनन् आँखा

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १८, बिहीबार ०८:४३

महोत्तरी । बर्दिबास–३ गौरीडाँडाकी सरिता बिष्टका हातबाट मोबाइल छुटेको छैन। छिनछिनमा मोबाइल हेरिरहन्छिन्। एक साता बित्यो, घरमा चुल्हो बलेको छैन। परिवारका कसैका आँखा पनि ओभाएका छैनन्। अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत छोरा सौभाग्य बिष्ट भोटेकोशी बाढीपछि सम्पर्कविहीन छन्।

‘बाबुले मामु ठिकै छु भनेर फोन गरिहाल्छ कि भन्ने लाग्छ। एकछिन यो मोबाइल छाडेकी छैन,’ सरिता भन्छिन्, ‘अहिले सौभाग्यबाहेक कुनै कुरा सम्झन सक्दिनँ।’ भदौ १० गते बिहान छोरासँग कुरा भएको सम्झिँदै सरिता भन्छिन्, ‘बाढीको खबर आउन थालेपछि सम्पर्क गर्न चाह्यौँ। त्यो दिन बिहान ९ बजेपछि बाबुसँग सम्पर्क हुन सकेको छैन।’

Advertisement

सौभाग्यको खोजीमा बुबा ध्रुव बिष्ट र मावलीघरका आफन्त रसुवा पुगेका छन्। ‘एकचोटि त भन्दियोस्, मामु म फसेको थिएँ, अब निस्केँ,’ उनी भन्छिन्, ‘सौभाग्यको यति वचन सुन्ने अभिलाषाले एकछिन मोबाइल छाडेकी छैन।’ मेकानिकल इन्जिनियर सौभाग्यकै कमाइमा बिष्ट परिवारको घरखर्च चल्दै आएको थियो।

बर्दिबास–९ पशुपतिनगरको गोमस्ता टोलका खिलबहादुर राना मगरको परिवारमा पनि एक सातादेखि घरको चुल्हो बलेको छैन। अपर त्रिशूली–१ जलविद्युत् आयोजनामै कार्यरत छोरी जोया रानासँग भदौ १० गते बिहान ९ बजेदेखि सम्पर्क हुन सकेको छैन।

‘सन्तानका नाममा तीनवटी छोरी छन्। अलि लेखपढ भएकी हुँदा जोयाकै भरमा परिवार चलेको छ,’ खिलबहादुर भन्छन्, ‘जसमाथि जिन्दगी सुम्पन्न खोज्थेँ, उही सम्पर्कविहीन भएकी छ।’ छोरीको खोजीमा आफैँ हेलिकोप्टर भाडामा लिएर रसुवा र नुवाकोटका त्रिशूली किनारमा कैयौँ पटक चक्कर लगाए पनि अहिलेसम्म अत्तोपत्तो नपाएको खिलबहादुरले आँसु झार्दै बताए।

मटिहानी–७ का ४० वर्षीय गङ्गाराम मण्डलको घरमा आमा, पत्नी र चार छोराछोरी उहाँको एक वचनको पर्खाइमा छन्। ‘भदौ ९ गते ‘म गोसाइँकुण्ड जाँदैछु’ भनेर फोन गर्नुभएको थियो,” पत्नी गुञ्जा मण्डल भक्कानिँदै भन्छिन्, “त्यसपछि उहाँसँग सम्पर्क भएको छैन।’

काठमाडौँस्थित रिचा टुर्स कम्पनीमा भान्सेको काम गर्ने गङ्गाराम भदौ ९ गते कम्पनीका पाहुनासँगै रसुवा गएका थिए। परिवारको एउटै सहारा सम्पर्कविहीन भएपछि घरमा छट्पटी बढेको छ। जलेश्वर–७ का हशन अन्सारी पनि भदौ १० गते बिहान ९ बजेपछि सम्पर्कविहीन छन्। रसुवाको एक जलविद्युत् आयोजनामा मेकानिकको काम गर्ने अन्सारीले अन्तिमपटक भदौ ९ गते आमा मुलिमा खातुनलाई फोन गरेका थिए।

केही दिनभित्रै एक साताको बिदामा घर आउने बताएका हशनलाई उनका पिता माजिद अन्सारी सम्झन्छन्। ‘दिनदिनै घरमा फोन गर्थ्यो। भदौ १० पछि पनि फोन आउने प्रतीक्षामा छौँ,’ माजिद भन्छन्, ‘भदौ १० यता घरमा चुल्हो बलेको छैन। आफन्त जो आउँछन्, सबैका आँखा टिलपिलाएका हुन्छन्।’ कसैले हशनबारे राम्रो समाचार सुनाउला कि भन्ने पर्खाइमा परिवार छ।

भोटेकोशी बाढीपछि रसुवा र नुवाकोटमा सम्पर्कमा आएका महोत्तरीका १८ जनालाई जिल्ला प्रशासन कार्यालयले सुरक्षित रूपमा परिवारको सम्पर्कमा पठाइसकेको छ। सम्पर्कविहीन भएका १९ जनामध्ये छ जना परिवारको सम्पर्कमा आइसकेका महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।

‘अब महोत्तरीका १३ जना सम्पर्कविहीन हुनुहुन्छ। उहाँहरूको खोजी र सम्पर्कको प्रयास निरन्तर भइरहेको छ,’ यादवले भने, “विश्वास गरौँ, सबै सकुशल भेटिनुहोस्।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×