
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले बाढीपहिरोबाट अति प्रभावित नुवाकोट र रसुवाका विभिन्न गाउँको स्थलगत भ्रमण गरी पीडितको अवस्थाबारे जानकारी लिएका छन् । भ्रमणपछि फेसबुकमा भिडियो सन्देश जारी गर्दै थापाले विपद्को यस घडीमा सरकारको नेतृत्वदायी भूमिका र समाजको सामूहिक ऐक्यबद्धता आवश्यक रहेको बताएका छन् ।
भ्रमणका क्रममा भेटेका एक अनाथ बालकको प्रसंग सुनाउँदै थापाले विपद्ले निम्त्याएको मानवीय पीडा अत्यन्तै मार्मिक रहेको बताए। उनका अनुसार ती बालकले ‘बाटो कहिले बन्छ?’ भनेर सोधिरहेका थिए । परिवारका सदस्यले बाटो बिग्रिएकाले ममी–बाबा आउन नसकेको र बाटो बनेपछि आउने भनेर सम्झाएका थिए। तर उनका आमा, बुबा र हजुरआमा सबै बाढीमा बितिसकेका थिए ।
देवीघाट र सेरखानीका स्थानीयले सुरुङमा आफन्त थुनिएको र जताततै शवको गन्ध आइरहेको भन्दै उद्धारका लागि गरेको हारगुहारले आफूहरू स्तब्ध भएको थापाले बताएका छन् । कतिपयले जायजेथा र व्यवसाय सबै गुमाएर सुकुम्बासी बन्नुपर्ने अवस्था आएकोमा चिन्ता व्यक्त गरेको उनले बताए ।
केन्द्र सरकारको सहयोग सीमित भए पनि स्थानीय तहका जनप्रतिनिधिले रातदिन खटेर उद्धार तथा व्यवस्थापनमा गरेको कामको थापाले प्रशंसा गरेका छन् । गल्छी, विदुर, कोलोनी, दुप्चेलगायतका वडा अध्यक्ष र स्थानीय नेताले जोखिम मोलेर गरेको काम प्रशंसनीय रहेको उनको भनाइ छ ।
बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा तथा अन्य सांसदले तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण, खानेपानीको समस्या समाधान र अस्थायी विद्यालय सञ्चालनका लागि देखाएको सक्रियताको पनि थापाले चर्चा गरेका छन् ।
थापाले राहत वितरणमा चामल र दाल मात्र पर्याप्त नहुने बताएका छन् । प्रभावित क्षेत्रमा तत्काल शौचालय निर्माण, सरसफाइ र स्वास्थ्य सेवा, दीर्घरोगीका लागि नियमित औषधि, अन्तर्वस्त्र तथा व्यक्तिगत सरसफाइका सामग्री आवश्यक रहेको उनले बताए । बालबालिकाको मानसिक स्वास्थ्य र शिक्षाका लागि अस्थायी कक्षाकोठाको व्यवस्था गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् ।
थापाले सरकारलाई तीनै तहका सरकारबीच समन्वय गरी नेतृत्व लिन आग्रह गरेका छन् । कुन क्षेत्रमा के–कस्तो अभाव छ भन्ने स्पष्ट हुने गरी एउटा पोर्टल बनाएर आवश्यकताअनुसार राहत पठाउने व्यवस्था गर्न उनले सुझाव दिएका छन् ।



















