
काठमाडौं । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि नेपाललाई विभिन्न देश तथा अन्तर्राष्ट्रिय संस्थाबाट राहत तथा उद्धार सहयोग प्राप्त भइरहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भारतले हालसम्म पाँच चरणमा ७४ टन राहत तथा उद्धार सामग्री उपलब्ध गराएको छ भने उद्धारका लागि विज्ञ टोलीसमेत प्रभावित क्षेत्रमा खटाएको छ ।
चीनले ३० करोड रुपैयाँ र ५० टन राहत सामग्री उपलब्ध गराइसकेको छ । प्रभावित क्षेत्रमा प्रयोगका लागि नेपाल सरकारले चीनसँग ३० वटा बेलीब्रिज सहयोग गर्न अनुरोध गरेको छ ।
पाकिस्तानबाट ८६ टन राहत सामग्री प्राप्त हुँदैछ भने श्रीलङ्काले १० लाख अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । बङ्गलादेशले पनि राहत सामग्री पठाउने तयारी गरेको छ ।
अमेरिकाले ५ लाख अमेरिकी डलर र अष्ट्रेलियाले १० लाख अमेरिकी डलर नगद सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । अष्ट्रेलियाले विशेषज्ञ तथा ड्रोन अपरेटरसहितको टोलीसमेत नेपाल पठाउने जनाएको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई)ले ८३ टन अत्यावश्यक राहत सामग्री उपलब्ध गराइसकेको छ भने थप १ करोड अमेरिकी डलरसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । कतारले ४० टन राहत सामग्री उपलब्ध गराएको छ ।
त्यसैगरी, बेलायतले ५० लाख पाउण्ड, युरोपेली सङ्घअन्तर्गतको नागरिक सुरक्षा तथा मानवीय सहायता परिचालनले २० लाख यूरो, स्विट्जरल्याण्डले १० लाख अमेरिकी डलर, डेनमार्कले ३५ लाख डेनिस क्रोनर, जर्मनीले २० लाख अमेरिकी डलर र आयरल्याण्डले ५ लाख यूरो सहयोग गर्ने घोषणा गरेका छन् ।
चेक रिपब्लिकले २५ लाख चेक कोरुना र नर्वेले १ करोड २७ लाख नर्वेजियन क्रोन सहयोग गर्ने घोषणा गरेका छन् । फ्रान्सले प्रभावित क्षेत्रका २०० घरपरिवारका लागि आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ भने लक्जेम्बर्ग र लातभियाले पनि राहत सामग्री उपलब्ध गराएका छन् ।

























