
काठमाडौं । रसुवामा भएको विपत्तिसहित जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षतिका बारेमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने भएका छन् ।
प्रधानमन्त्री शाह रसुवा विपत्तिको मुद्दा बोकेर अमेरिकाको न्यूयोर्क जाने भएका हुन् । न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री शाह आफैँ सहभागी हुने तयारी भएको उच्च स्रोतले जनाएको छ । प्रधानमन्त्री शाहसँगै परराष्ट्रमन्त्री शिशिर खनालसहित सीमित सदस्य रहेको टोली महासभामा जाने तयारीमा छ ।
यसअघि सरकारले परराष्ट्रमन्त्री खनालको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको थियो । तर, रसुवालगायतका क्षेत्रमा पछिल्लो समय देखिएको विपत्ति र त्यसमा जलवायु परिवर्तनको प्रभावका बारेमा विश्व समुदायसमक्ष प्रत्यक्ष रूपमा कुरा राख्नुपर्ने सुझाव आएपछि प्रधानमन्त्री शाह आफैँ महासभामा सहभागी हुने तयारी अघि बढेको हो ।
प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्दै नेपालमा जलवायु परिवर्तनले निम्त्याएको संकट, भोटेकोशी बाढी तथा त्यसबाट भएको मानवीय र भौतिक क्षतिका बारेमा जानकारी गराउने तयारी छ । साथै, जलवायु परिवर्तनबाट बढी प्रभावित नेपालजस्ता मुलुकले पाउनुपर्ने जलवायु न्याय र क्षतिपूर्तिको विषयसमेत उठाउने तयारी गरिएको छ ।
प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री खनालले मन्त्रालयको टोली तथा न्यूयोर्कस्थित नेपाली नियोगलाई आवश्यक काम अघि बढाउन निर्देशन दिइसकेको बताइएको छ । महासभा सेप्टेम्बर ८ बाट सुरु हुँदैछ भने प्रधानमन्त्री शाह सेप्टेम्बरको तेस्रो साता न्यूयोर्क जाने तयारीमा छन् ।
नेपालमा पछिल्लो समय भएका प्राकृतिक विपत्तिलाई जलवायु परिवर्तनसँग जोडेर अन्तर्राष्ट्रिय मञ्चमा बलियो रूपमा प्रस्तुत गर्नुपर्ने विषयमा सरकारभित्र पनि छलफल भइरहेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले सोमबार मन्त्रालयमा बोलाएको मन्त्री तथा विज्ञहरूको बैठकमा पनि प्रधानमन्त्री शाहले नै महासभामा नेपालको धारणा राख्नुपर्ने सुझाव आएको थियो ।
बैठकमा अर्थमन्त्री वाग्ले, पूर्वाधार विकासमन्त्री सुनील लम्साल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसहित विभिन्न क्षेत्रका विज्ञ सहभागी थिए । बैठकमा अर्थमन्त्री वाग्लेले जलवायु परिवर्तनबाट भएको क्षति सम्बोधनका लागि संयुक्त राष्ट्रसंघअन्तर्गतको ‘क्लाइमेट चेन्ज फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज’मा पत्र पठाइएको जानकारी गराएका थिए ।
अर्थ मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालयले संयुक्त रूपमा उक्त पत्र पठाएका हुन् । जलवायु वैज्ञानिकहरूले रसुवामा देखिएको विपत्तिको प्रमुख कारणमध्ये जलवायु परिवर्तन पनि रहेको बताउँदै आएका छन् । यसै विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष पुर्याउन प्रधानमन्त्री शाहले महासभालाई उपयोग गर्ने तयारी गरेका हुन् ।
प्रधानमन्त्री शाहले यसअघि नै संसद्मा पनि जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको असरका बारेमा विश्व समुदायलाई जानकारी गराउने बताएका थिए । अब संयुक्त राष्ट्रसंघको महासभामार्फत नेपालले जलवायुजन्य विपत्तिका कारण भोगिरहेको क्षति र त्यसको सम्बोधनका लागि अन्तर्राष्ट्रिय सहयोग तथा जलवायु न्यायको माग अघि सार्ने तयारी गरिएको छ ।

























