मनसुन सक्रिय हुँदा चार प्रदेशमा भारी वर्षाको सम्भावना

Share this
627shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १९, शुक्रबार ०६:४३
कोशी, बागमती र गण्डकीमा ‘धेरै भारी’ वर्षाको सम्भावना 

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज (शुक्रबार) पनि मुलुकका विभिन्न स्थानमा वर्षा हुने भएको छ । मनसुनी गतिविधि सक्रिय हुँदा चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरको मौसम सामान्यतया बदली रहनेछ भने केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना छ । दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा भारी वर्षा हुन सक्नेछ महाशाखाको पूर्वानुमान छ । त्यस्तै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भाग तथा सुदूरपश्चिमका पहाडी र तराई क्षेत्रका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ ।

Advertisement

देशका हिमाली भू–भागका केही स्थानमा हिमपातसहित वर्षा हुने अनुमान गरिएको छ भने पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराईका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ ।

लुम्बिनी प्रदेशको तराई क्षेत्रमा वर्षासँगै हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन भनिएको छ । शुक्रबार देशभरको मौसम सामान्यतया बदली रहनेछ । हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका थोरै स्थान तथा मधेशका एक–दुई स्थानमा वर्षा हुन सक्नेछ ।

रातको समयमा पनि कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रानसहितको बहाव, बाढी, पहिरो र भू–क्षयको जोखिम बढ्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।

वर्षाका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन, पर्वतारोहण, स्वास्थ्य तथा दैनिक जनजीवन प्रभावित हुन सक्ने भन्दै सर्वसाधारणलाई मौसमसम्बन्धी अद्यावधिक सूचना हेरेर यात्रा तथा अन्य गतिविधि गर्न महाशाखा अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×