
विराटनगर । झापा र इलाममा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
प्रहरीका अनुसार झापाको अर्जुनधारा नगरपालिका–९ बाह्रघरेस्थित शनिश्चरे–जयपुर भित्री सडक खण्डमा बिहीबार राति ८ बजेतिर दुर्घटना भएको छ । जयपुरबाट शनिश्चरेतर्फ आउँदै गरेको मे १० प ५२११ नम्बरको मोटरसाइकलले पैदलयात्री अर्जुनधारा–९ का ६२ वर्षीय टेककुमार राईलाई ठक्कर दिएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका राईलाई उपचारका लागि बिर्तामोडको बी एन्ड सी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मोटरसाइकलसहित चालक इलामको सूर्योदय नगरपालिका–११ का २८ वर्षीय रुपेश राईलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
मादक पदार्थ सेवन (मापसे) गरेर मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।
त्यस्तै, मेची राजमार्गअन्तर्गत इलामको इलाम नगरपालिका–१० बाह्रगोलाईमा ट्रक आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार बेलीब्रिजको सामान बोकेर झापाबाट इलामतर्फ जाँदै गरेको डब्लू बी २९ बी २९४४ नम्बरको ट्रक सडकबाट करिब ५ मिटर तल खसेको थियो ।
दुर्घटनामा ट्रकका सहचालक भारतको दक्षिण दिनेशपुर गंगारामपुर घर भएका अन्दाजी ३८ वर्षीय सुवास बर्मनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर ट्रक चालक भारत नै घर भएका ३० वर्षीय रविन बर्मन र ट्रकमा सवार सिन्धुपाल्चोकको चौतारा नगरपालिका–३ घर भएका २९ वर्षीय आशबहादुर तामाङ सामान्य घाइते भएका छन् ।
ट्रकको ‘ब्रेक फेल’ भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

























