विराटनगरका व्यावसायिक सटरमा आगलागी, ६८ लाखको क्षति

Share this
787shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १९, शुक्रबार ०८:२६
फाइल फाेटाे

विराटनगर । विराटनगर महानगरपालिका–३ साइबाबाचोकको एउटा घरमा सञ्चालित व्यावसायिक सटरहरुमा शुक्रबार बिहानका राति आगलागी हुँदा ठूलो क्षति भएको छ । व्यावसायिक सटरहरुमा आगलागी हुँदा करिब ६८ लाख रुपैयाँ बराबरको क्षति भएको हो ।

मेघराज कोइरालाको घरका सटरमा बिहान करिब २ः३० बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । केही व्यवसायीले कोइरालाको घरका सटरहरु भाडामा लिएर विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका थिए ।

Advertisement

आगलागीबाट विराटनगर–२ का श्याम साहले सञ्चालन गर्दै आएको विद्युतीय सवारीसाधनको शोरुमको दुईवटा सटरमा आगलागी हुँदा चारवटा विद्युतीय सिटी सफारी, एउटा विद्युतीय स्कुटर, चारवटा विद्युतीय साइकल, चार थान लिथियम ब्याट्री, मदिरा डिलरका सामान तथा अन्य सामग्री जलेर नष्ट भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए । शोरुममा करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, विराटनगर–७ का श्याम चौहानले सञ्चालन गर्दै आएको मोटर पार्ट्स पसलको सटरमा पनि आगलागी भएको छ । आगलागीबाट गाडी तथा मोटरसाइकल ग्यारेजका सामान, मोबिल, ग्रिज, ब्रेक आयल, इन्जिन आयल, मोबिल फिल्टर, कुलिनलगायतका सामान जलेर नष्ट हुँदा करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको मिश्रले बताए ।

विराटनगर–२ का मोहमद अजादले भाडामा लिएर सञ्चालन गर्दै आएको मोटर पार्ट्स पसलको सटरमा रहेका मोटर पार्ट्स, टायर, ब्याट्री चार्जर तथा ग्यारेजका अन्य सामान जलेर नष्ट भएका छन् । उक्त घटनामा करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

यसैगरी, विराटनगर–३ की सुष्मा खड्काले सञ्चालन गर्दै आएको नास्ता पसलको सटरमा आगलागी हुँदा टेबल, कुर्सी, पंखा, फ्रिजलगायतका सामान जलेर नष्ट भएका छन् । पसलमा करिब २ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार व्यावसायिक सटरमा आगलागी हुँदा करिब ६८ लाख रुपैयाँ बराबरको क्षति भएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ । प्रहरी, विराटनगर महानगरपालिकाको दमकल र स्थानीयको सहयोगमा करिब एक घण्टापछि आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो । घटनामा मानवीय र चौपाया क्षति भने भएन ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×