भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २८७ पुग्यो, क्षति ३ खर्ब ८७ अर्बभन्दा बढी

Share this
777shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भदौ १९, शुक्रबार १५:२४

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा त्यसबाट सिर्जित विपदमा परी ज्यान गुमाउनेको संख्या १ हजार २८७ पुगेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज (शुक्रबार) मध्याह्न अद्यावधिक गरेको विवरणअनुसार बाढी तथा पहिरोबाट ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको आर्थिक क्षति र नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ ।

प्राधिकरणका अनुसार विपद्बाट प्रभावित क्षेत्रलाई शीघ्र पुनर्लाभको अवस्थामा फर्काउन मात्रै ७ अर्ब १५ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ । शुक्रबार मध्याह्नसम्म फेला परेका १ हजार २८७ शवमध्ये सबैभन्दा धेरै चितवनमा भेटिएका छन् । फेला परेका शवमध्ये हालसम्म ९६ जनाको मात्रै सनाखत भएको प्राधिकरणले जनाएको छ ।

जिल्लागत रूपमा चितवनमा ३५९, नवलपरासी पूर्वमा २१९, नवलपरासी पश्चिममा २१२, नुवाकोटमा १८४, रसुवामा १४०, गोरखामा ७२, धादिङमा ६३ र तनहुँमा ३८ शव फेला परेका छन् । बाढी र पहिरोमा परी ५ हजार ८३ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । सम्पर्कविहीनमध्ये ५८३ जना विदेशी नागरिक छन् ।

सम्पर्कविहीन हुनेमा रसुवाका २ हजार १३० र नुवाकोटका २ हजार ३४० जना छन् । प्राधिकरणका अनुसार सम्पर्कविहीनको सूचीमा पहिचान हुन नसकेका शवसमेत समावेश भएको हुनसक्ने अनुमान छ । विपदमा परी हालसम्म ५ हजार ३९७ जना घाइते भएका छन् । उनीहरूको विभिन्न अस्पताल तथा नेपाली सेना र सशस्त्र प्रहरी बलका स्वास्थ्यकर्मीमार्फत उपचार भइरहेको छ ।

उद्धार कार्यलाई तीव्रता दिँदै सुरक्षा निकायले हालसम्म १३ हजार ९३ जनालाई सुरक्षित स्थानमा पुर्‍याएका छन् । उद्धार गरिएकामध्ये ३०३ जना विदेशी नागरिक रहेका छन् । शुक्रबार मात्रै त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको जीवितै उद्धार गरिएको छ । राहत तथा उद्धारका लागि नेपाली सेनाले ८३० पटक र निजी क्षेत्रले १२९ पटक हेलिकोप्टर उडान गरेका छन् ।

प्रारम्भिक आकलनअनुसार बाढी तथा पहिरोबाट ७ हजार ५७० निजी घरमा क्षति पुगेको छ । त्यस्तै ४८ वटा सरकारी संरचना, १८ विद्यालय र ७ स्वास्थ्य संस्थामा पूर्ण तथा आंशिक क्षति भएको छ । यातायाततर्फ ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने ३७ वटा मोटरेबल पुल र ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ ।

२१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

विपद् व्यवस्थापन तथा उद्धारका लागि देशभर २१ हजार ४२१ सुरक्षाकर्मी परिचालन गरिएको छ । तीमध्ये नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७ हजार ९३१ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना छन् । प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउन काठमाडौंबाट ६९ ट्रक र ३८ बोलेरोमार्फत खाद्यान्न तथा गैरखाद्यान्न सामग्री पठाइएको छ। सशस्त्र प्रहरीले १६३ हवाई उडानमार्फत नुवाकोट र रसुवामा राहत सामग्री पुर्‍याएको प्राधिकरणले जनाएको छ ।

सरकारले तत्कालीन राहतस्वरूप रसुवा र नुवाकोटलाई १–१ करोड, धादिङलाई ५० लाख तथा प्रभावित १५ स्थानीय तहलाई १३ करोड ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ । बाढीका कारण अवरुद्ध सञ्चार सेवा पनि क्रमशः सुचारु हुन थालेका छन्। प्राधिकरणका अनुसार नेपाल टेलिकमका १२० मध्ये ११६ र एनसेलका ७८ मध्ये ७५ वटा टावर सञ्चालनमा आइसकेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.