
काठमाडौं। रसुवा बाढीका परेका एक हजार २९५ जनाको शव फेला परेको छ । नेपाल प्रहरीको मुख्यालयका अनुसार रसुवामा १४०, नुवाकोटमा १८६, धादिङमा ६५, चितवनमा ३५९, गोरखामा ७२, तनहुँमा ३८, नवलपरासीपूर्वमा २२१ र नवलपरासीपश्चिममा १९४ र भारतमा भेटिएको (नवलपरासी पश्चिममा बुझाएको) १८ गरी एक हजार २९३ शव फेला परेको हो ।
प्रहरीका अनुसार फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म २२२ महिला, ३५५ पुरूष र ४५३ नखुलेको गरी जम्मा एक हजार ३० वटा शव व्यवस्थापन गरिएको छ ।
शव पहिचानका लागि मृतकका एक हजार २६० र आफन्तका ८४६ गरी दुई हजार १०६ वटा डिएनए नमूना संकलन गरिएको छ । साथै पहिचान नभएका एक हजार २६३ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा पनि राखिएको प्रहरीले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म सात हजार ९१२ प्रहरी कर्मचारी परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका चार हजार ८९८ जनाको खोजी भइरहेको छ । यसैगरी विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा तीन हजार ६५५ व्यक्तिलाई राखिएको छ ।
प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घरपरिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने काम गरिरहेको छ ।

























