
काठमाडौं । चीनले नेपालसँग आपतकालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ । उद्धार तथा विपद् राहतका लागि आवश्यक सहयोगस्वरूप यस्तो सूचना आदानप्रदान गरिने नेपालस्थित चिनियाँ दूतावासले जनाएको हो ।
दूतावासका अनुसार नदीमा बनेका अवरोध, हिमतालबाट उत्पन्न हुन सक्ने जोखिमलगायत जलविज्ञानसम्बन्धी सूचनासमेत नेपाललाई उपलब्ध गराइनेछ ।
चिनियाँ मौसमसम्बन्धी निकायले केरुङ–रसुवा सीमामा भीषण पहिरो गएदेखि नै नेपाललाई मौसम अनुगमन, मौसम पूर्वानुमान, पूर्वसूचना तथा त्यसको प्रभावसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।
विपद् घटेलगत्तै चिनियाँ प्रशासनले नेपालको मौसम विभागसँग भिडियोमार्फत मौसमसम्बन्धी परामर्श गरेको थियो। साथै, नेपालको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन मौसमसम्बन्धी सूचना र सेवा सक्रिय रूपमा उपलब्ध गराउँदै आएको पनि चिनियाँ पक्षले जनाएको छ ।

























