
काठमाडौं । भोटेकोशी बाढीका कारण हालसम्म मृत्यु हुनेको संख्या साढे तेह्र सय नजिक पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहान सार्वजनिक गरेको विवरण अनुसार बाढीमा परेर मृत्यु भएकामध्ये हालसम्म १ हजार ३४४ जनाको शव फेला परिसकेको हो ।
नेपाली प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार बाढीपछि विभिन्न स्थानबाट १ हजार ३४४ जनाको शव फेला परिसकेको छ । बेपत्ता हुनेको संख्या धेरै रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने उनको भनाइ छ ।
प्रहरीका अनुसार फेला परेका शवमध्ये ५२ जना बालक, ३३ जना बालिका, २६९ जना महिला र ४८९ जना पुरुष छन् । त्यस्तै, ५०१ जनाको आंशिक अंग मात्रै फेला परेको प्रहरीले जनाएको छ ।
फेला परेका शवमध्ये हालसम्म १ हजार ३० वटा शवको व्यवस्थापन भइसकेको छ । बाढीमा परी अझै ४ हजार ८९८ जना सम्पर्कविहीन रहेको प्रहरीको तथ्यांक छ । सम्पर्कविहीनमध्ये ६१८ जना विदेशी नागरिक रहेका छन् ।
बाढीपछि मृतकको पहिचानका लागि प्रहरीले डीएनए परीक्षणको काम पनि तीव्र रुपमा अघि बढाइएको छ । हालसम्म १ हजार २६० जना मृतकको नमुना र उनीहरूका ९७२ जना आफन्तको नमुना संकलन गरिएको छ ।
यसरी मृतक र आफन्त गरी कुल २ हजार २३२ जनाको डीएनए नमुना संकलन भएको प्रहरीले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारको काम जारी रहेको डीआईजी काफ्लेले बताए ।
यस्तो छ प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण


























