
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा गरी ११ अर्ब ५ करोड ५६ लाख २६ हजार ९७१ रुपैयाँ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार ९ वटा वाणिज्य बैंकमा रहेको नेपाली रुपैयाँको खातामा ८ अर्ब ६ करोड २५ लाख १५ हजार ५१८ रुपैयाँ मौज्दात छ । त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको अमेरिकी डलर खातामा १ करोड ९८ लाख ३७ हजार ६९५ अमेरिकी डलर जम्मा छ ।
सरकारले यसअघि यी कोषमा जम्मा भएको रकममध्ये १ अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रको उद्धार तथा राहतका लागि निकासा गरिसकेको छ ।
भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग जुटाइरहेको छ । विभिन्न व्यक्ति, संस्था तथा निजी क्षेत्रबाट समेत कोषमा सहयोग रकम जम्मा भइरहेको कार्यालयले जनाएको छ ।

























