
विराटनगर । विराटनगरको राधाकृष्ण रथयात्राका क्रममा अवाञ्छित, उच्छृङ्खल एवं शंकास्पद गतिविधि गर्ने ७५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगरमा विराटनगरको ५९औँ राधाकृष्ण रथयात्रा जारी छ । हजारौँ भक्तजनको सहभागितामा जारी रथयात्राको उल्लासका क्रममा चोरी, पाकेटमारी, अवाञ्छित, उच्छृङ्खल र शंकास्पद गतिविधि गर्नेहरु धमाधम पक्राउ परिरहेका हुन् । हालसम्म पक्राउ परेका ७५ जनालाई वडा प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । पक्राउ पर्नेको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले रथयात्राको सुरक्षा व्यवस्थालाई प्रहरीले उच्च प्राथमिकतामा राखेको जानकारी दिए । भिडभाडको मौका छोपेर हुन सक्ने चोरी, पाकेटमारी, अवाञ्छित र उच्छृङ्खल गतिविधि तथा मानिस हराउने एवं अन्य आपराधिक गतिविधि नियन्त्रणसँगै सम्भावित दुर्घटना रोक्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
एसपी कटवालका अनुसार रथयात्राको भिडमा हुने गतिविधिमाथि प्रहरीले विशेष हिसाबबाट निगरानी बढाएको छ । भिडको अवस्था तथा सम्भावित जोखिमका बारेमा निगरानी गर्न ड्रोनसमेत प्रयोग गरिएको छ । रथयात्राका क्रममा उच्छृङ्खल गतिविधि गर्ने, चोरी तथा अन्य आपराधिक क्रियाकलापमा संलग्न हुने व्यक्तिलाई तत्काल नियन्त्रणमा लिने नीति प्रहरीले अवलम्बन गरेको छ ।
प्रहरीले रथयात्रामा सहभागी हुने भक्तजन तथा सर्वसाधारणलाई भिडभाडमा विशेष सावधानी अपनाउन र साथमा भएका सामानको सुरक्षामा स्वयं सचेत रहन एवं अपरिचित व्यक्तिको गतिविधिमाथि पनि ध्यान दिन आग्रह गरेको छ । रथयात्राका क्रममा चोरी भएमा, व्यक्ति हराएमा, झगडा, दुर्घटना वा अन्य कुनै समस्या भएमा तत्काल मोरङ प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी दिन आग्रह गरिएको छ ।
भिडमा संयमित भएर हिँड्न, आफ्ना सामानको सुरक्षा आफैँ गर्न, बालबालिका तथा वृद्धवृद्धाको विशेष ख्याल गर्न र कुनै शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई जानकारी गराउन एसपी कटवालले आग्रह गरेका छन् ।

























