कांग्रेसको नीति प्रतिष्ठान अब वरिष्ठ उपसभापतिको नेतृत्वमा

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ८, आइतबार १६:०४

काठमाडौं । नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अब वरिष्ठ उपसभापतिको नेतृत्वमा रहने भएको छ । पार्टीको १५औँ महाधिवेशनले विधान संशोधन गर्दै प्रतिष्ठानको नेतृत्व वरिष्ठ उपसभापतिले गर्ने व्यवस्था पारित गरेको हो ।

कांग्रेसमा वरिष्ठ उपसभापतिको व्यवस्था पनि पहिलोपटक गरिएको हो । उक्त पदमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन् । नयाँ व्यवस्थाअनुसार शर्माले नै अब प्रतिष्ठानको नेतृत्व गर्नेछन् ।

नवनिर्वाचित महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा रहेको विधान संशोधन मस्यौदा समितिले वरिष्ठ उपसभापतिको नेतृत्वमा प्रतिष्ठान राख्ने प्रस्ताव अघि सारेको थियो । उक्त प्रस्ताव १५औँ महाधिवेशनबाट पारित भएको हो ।

विधान तयार भएर आइनसके पनि प्रतिष्ठानको नेतृत्वसम्बन्धी व्यवस्था समितिबाट पारित भएको नेताहरूले बताएका छन् । विधान मस्यौदा समितिका सदस्य तथा पूर्वसहमहामन्त्री जीवन परियारले प्रतिष्ठानको नेतृत्व वरिष्ठ उपसभापतिले गर्ने व्यवस्था समितिबाट पारित भएको जानकारी दिए ।

नवनिर्वाचित महामन्त्री उदयशमशेर राणाले पनि प्रतिष्ठान अब वरिष्ठ उपसभापतिको नेतृत्वमा रहने विषयमा सहमति भएको बताए । उनका अनुसार प्रतिष्ठानको नेतृत्व वरिष्ठ उपसभापतिले गर्ने प्रस्ताव पारित भएको हो ।

यसअघि विधानमा सभापतिले तोकेको उपसभापतिले प्रतिष्ठानको नेतृत्व गर्ने व्यवस्था थियो । संशोधनमार्फत वरिष्ठ उपसभापतिको नेतृत्वमा प्रतिष्ठान रहने प्रावधान राखिएको हो ।

गत पुसको अन्तिम साता भएको विशेष महाधिवेशनपछि सभापति बनेका गगन थापाले तत्कालीन उपसभापति विश्वप्रकाश शर्मालाई प्रतिष्ठानको संयोजकको जिम्मेवारी दिएका थिए। अहिले वरिष्ठ उपसभापति बनेका शर्मालाई नै प्रतिष्ठानको नेतृत्व दिने व्यवस्था गरिएको नेताहरूले बताएका छन् ।

यसअघि १४औँ महाधिवेशनबाट सभापति निर्वाचित शेरबहादुर देउवाले तत्कालीन उपसभापति पूर्णबहादुर खड्कालाई प्रतिष्ठानको संयोजकको जिम्मेवारी दिएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×