पिजफायर सञ्चालकको मृत्यु प्रकरण : युवतीसँगको सम्बन्ध र आर्थिक हिसाबकिताबमाथि अनुसन्धान

Share this
663shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ८, आइतबार १७:३८

विराटनगर । विराटनगरस्थित पिजफायर रेस्टुरेन्टका सञ्चालक मनोज खत्रीको मृत्यु प्रकरणलाई लिएर उनीसँग व्यक्तिगत सम्बन्धमा रहेकी एक युवती प्रहरी अनुसन्धानको दायरामा परेकी छन् ।

खत्रीको रेस्टुरेन्टमा करिब ४–५ वर्षदेखि काम गर्दै आएकी झापाकी २७ वर्षीया युवतीको व्यक्तिगत सम्बन्ध र रेस्टुरेन्टको आर्थिक हिसाबकिताबलाई केन्द्रमा राखेर प्रहरीले अनुसन्धान अघि बढाएको हो । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार खत्रीले सञ्चालन गर्दै आएको रेस्टुरेन्टको आर्थिक हिसाबकिताबसमेत ती युवतीले हेर्दै आएकी थिइन् ।

प्रारम्भिक अनुसन्धानमा खत्री र युवतीबीच प्रेम सम्बन्ध रहेको खुलेको प्रहरीले जनाएको छ । युवतीले पनि प्रहरीसमक्ष आफू खत्रीसँग केही समयदेखि व्यक्तिगत सम्बन्धमा रहेको स्वीकार गरेकी छन् ।

प्रहरीले युवतीलाई शनिबार राति नै पक्राउ गरी अनुसन्धान अघि बढाएको हो । उनीविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउने तयारी प्रहरीले गरेको छ । यद्यपि, खत्रीको मृत्युमा युवतीको संलग्नता वा उनको व्यवहारको कुनै भूमिका छ वा छैन भन्ने विषय अनुसन्धानबाट पुष्टि भइसकेको छैन ।

प्रहरीले खत्री र युवतीबीच पछिल्लो समय सम्बन्धमा खटपट देखिएको तथा रेस्टुरेन्टको आर्थिक कारोबारसम्बन्धी विषय पनि अनुसन्धानयोग्य रहेको जनाएको छ । व्यक्तिगत सम्बन्धमा आएको उतारचढाव वा आर्थिक हिसाबकिताबमा कुनै अनियमितता भएको थियो कि भनेर प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार युवतीले रेस्टुरेन्टको सम्पूर्ण हिसाबकिताब आफूले हेर्दै आएको स्वीकार गरे पनि त्यसमा कुनै अनियमितता नभएको दाबी गरेकी छन् । खत्रीलाई आफूले तनाव नदिएको र ‘ब्ल्याकमेलिङ’समेत नगरेको उनको भनाइ छ । तर, प्रहरीले डिभाइस परीक्षण गर्ने लगायतका प्राविधिक पक्षबाट पनि अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानका क्रममा युवतीले पछिल्लो समय आफूहरूबीच सामान्य खटपट भइरहेको प्रहरीलाई बताएकी छन् । उनका अनुसार करिब १० दिनदेखि खत्रीले दैनिक अत्यधिक मदिरा सेवन गर्ने गरेका थिए । सम्झाउँदासमेत मदिरा सेवन गर्न नछाडेको उल्लेख गर्दै उनले खत्रीको मृत्युमा आफ्नो कुनै दोष नरहेको दाबी गरेकी छन् ।

प्रहरीले भने खत्रीको व्यक्तिगत सम्बन्ध, पछिल्लो व्यवहार र आर्थिक कारोबारका पक्षलाई जोडेर घटनाको वास्तविकता पत्ता लगाउने प्रयास गरिरहेको छ । घटनासँग सम्बन्धित हुन सक्ने अन्य व्यक्तिलाई पनि निगरानीमा राखिएको प्रहरी स्रोतले जनाएको छ ।

विराटनगर महानगरपालिका–३ निवासी ५१ वर्षीय खत्री शुक्रबार दिउँसो करिब १ बजे स्कुटर लिएर घरबाट निस्किएका थिए । त्यसपछि परिवारसँग सम्पर्कविहीन भएका उनी शनिबार अपराह्न मोरङको केराबारी गाउँपालिका–९ स्थित धारापानी जंगलमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।

परिवारका सदस्यले पहिचान गरेपछि शनिबार साँझ करिब ७ बजे उनको सनाखत भएको थियो । खत्रीले प्रयोग गरेको स्कुटर भने फेला परिसकेको छैन । स्कुटरको अवस्थासहित घटनासँग सम्बन्धित अन्य तथ्यका बारेमा अनुसन्धान जारी राखेको एसपी कटवालले बताए ।

खत्री विवाहित हुन् । उनका श्रीमती, एक छोरा र एक छोरी छन् । घटनाका बेला उनकी श्रीमती भारतमा रहेको र फर्किएर आएपछि परिवारका सदस्यको उपस्थितिमा पोस्टमार्टम प्रक्रिया अघि बढाइने प्रहरी स्रोतले जनाएको छ । युवती पनि अविवाहित रहेको प्रहरीले जनाएको छ ।

खत्रीको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । पोस्टमार्टम रिपोर्ट, प्राप्त हुने अन्य प्रमाण र अनुसन्धानबाट खुल्ने तथ्यका आधारमा मृत्युको कारण यकिन हुने एसपी कटवालले बताए ।

विराटनगरमा स्थापित रेस्टुरेन्टका रूपमा परिचित पिजफायरका सञ्चालक खत्रीको मृत्युको कारण अझै खुलेको छैन । प्रहरीले व्यक्तिगत सम्बन्ध र आर्थिक कारोबारलाई मृत्युको सम्भावित कारण मानेर प्रहरीले अनुसन्धान गरिरहेको छ । मृत्युको अन्य कारण पनि हुन सक्ने प्रहरीको भनाइ छ ।

पिजफायर रेस्टुरेन्टका सञ्चालक खत्री जंगलमा मृत फेला

तपाइको प्रतिक्रिया
सप्तकोशीमा मोटरबोट दुर्घटना: तीन जनाको मृत्यु, तीन जना बेपत्ता
सप्तकोशीमा मोटरबोट दुर्घटना: तीन जनाको मृत्यु, तीन जना बेपत्ता
एनपीएल विजेताले डेढ करोड पाउने, उपविजेतालाई ८० लाख
एनपीएल विजेताले डेढ करोड पाउने, उपविजेतालाई ८० लाख
पिजफायर सञ्चालकको मृत्यु प्रकरण : युवतीसँगको सम्बन्ध र आर्थिक हिसाबकिताबमाथि अनुसन्धान
इजरायलद्वारा वेस्ट बैंकका स्थलमार्ग बन्द गर्ने घोषणा
कोजाग्रत पूर्णिमामा राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा
सप्तकोशीमा मोटरबोट पल्टिँदा तीन जनाको मृत्यु
कांग्रेसको नीति प्रतिष्ठान अब वरिष्ठ उपसभापतिको नेतृत्वमा
नेपालका तीन जलवायु परियोजना स्वीकृत
बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प, सुदूर पहाडमा धक्का
१४२ वर्षदेखि कायम रतौली–जानकी मन्दिरको सांस्कृतिक सम्बन्ध
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×