फाइल फोटोकाठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङमा आएको बाढीले चारवटा घर र एउटा फलामे पुल बगाएको छ ।
आइतबार बिहान करिब ३ बजे नाम्रुङ खोलामा अचानक बाढी आएपछि स्थानीय घर छाडेर सुरक्षित स्थानतर्फ भागेका थिए । बाढीले नुर्वु ओङ्ग्याल, उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनका घर पूर्ण रूपमा बगाएको गोरखा प्रहरीका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।
घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । बाढी आउन थालेपछि स्थानीयले समयमै सुरक्षित स्थानमा गएर ज्यान जोगाएको डीएसपी श्रेष्ठले बताए ।
बाढीका कारण चुमनुब्री गाउँपालिका–४ र वडा नम्बर २ जोड्ने फलामको पुलसमेत बगाएको छ । पुल बगाएपछि दुई वडाबीचको आवतजावत प्रभावित भएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार मुहान क्षेत्रमा केही समय खोला थुनिएर लेदोसहितको पानी एक्कासि बगेका कारण बाढी आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । बिहान ४ः४० बजेपछि भने खोलाको बहाव क्रमशः घटेको र अहिले अवस्था सामान्य रहेको प्रशासनले जनाएको छ ।
नाम्रुङ खोला बूढीगण्डकी नदीमा मिसिने भएकाले बाढीको सम्भावित प्रभावलाई ध्यानमा राख्दै बूढीगण्डकी नदीको तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।



















