
चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी किनारबाट चितवनमा फेला परेका शवको व्यवस्थापन, डीएनए नमुना सङ्कलन तथा पहिचानको काम भइरहेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार हालसम्म चितवनमा ३६२ शव फेला परेका छन्। तीमध्ये ३३३ शवको व्यवस्थापन भइसकेको छ भने १४ शवको सनाखत भएपछि आफन्तको जिम्मा लगाइएको छ।
शवको वैज्ञानिक पहिचानका लागि भदौ १६ गतेदेखि डीएनए नमुना सङ्कलन सुरु गरिएको हो। भदौ २० गतेसम्म हराइरहेका व्यक्तिका आफन्त ६८ जनाको डीएनए नमुना सङ्कलन गरिएको यादवले बताए। भदौ १६ गते सात पुरुषको नमुना सङ्कलन गरिएको थियो। भदौ १७ गते २६ जनाको नमुना सङ्कलन गरिएकामा दुई महिला, २२ पुरुष र दुई भारतीय पुरुष नागरिक रहेका छन्।
भदौ १८ गते २२ जनाको नमुना सङ्कलन गरिएकामा चार महिला, १४ पुरुष, एक बालक र तीन भारतीय पुरुष नागरिक छन्। यस्तै, भदौ १९ गते सात जनाको नमुना सङ्कलन गरिएकामा एक महिला, चार पुरुष, एक बालक र एक भारतीय पुरुष नागरिक रहेका छन्। भदौ २० गते छ जनाको नमुना सङ्कलन गरिएकामा दुई महिला, एक पुरुष र तीन बालक रहेका छन्।
प्रहरीका अनुसार हाल पनि शव खोजी, पहिचानका लागि आफन्तको डीएनए परीक्षण, हराइरहेका व्यक्तिको विवरण सङ्कलन तथा अन्य समन्वयात्मक प्रक्रिया निरन्तर भइरहेको छ।



















