रसुवागढी आयोजनाका ९३ जना १० दिनदेखि सम्पर्कविहीन

Share this
686shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २१, आइतबार ०९:५४

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत ९३ जना कर्मचारी तथा कामदार १० दिनदेखि सम्पर्कविहीन छन्। भदौ १० गते बिहान आएको आकस्मिक बाढीले आयोजनाको बाँधस्थल, पावरहाउस र कर्मचारी आवासगृहमा ठूलो क्षति पुर्‍याएपछि उनीहरू सम्पर्कविहीन भएका हुन्।

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका अनुसार सम्पर्कविहीन हुनेमा ५१ जना स्थायी कर्मचारी, कम्पनीका सञ्चालक सुनौऔदी तामाङ र उनकी धर्मपत्नी, दुई दैनिक ज्यालादारी कामदार तथा ठेकेदारतर्फका ३९ जना जनशक्ति छन्। बाढीका बेला आयोजनास्थलमा रहेका केही स्थानीय कर्मचारी भागेर ज्यान जोगाउन सफल भए पनि अन्य कर्मचारी सुरक्षित स्थानतर्फ जान नपाउँदै बाढीको चपेटामा परेको प्रारम्भिक अनुमान छ।

Advertisement

बाढीसँगै आएको लेदो र ढुङ्गाले बाँधस्थल, साइट कार्यालय, विद्युत् गृह र प्रसारण लाइनमा ठूलो क्षति पुर्‍याएको छ। विशेषगरी ट्रान्सफर्मर क्याभर्न र पावरहाउस लेदोले भरिएकाले त्यहाँ फसेका हुनसक्ने कर्मचारीको अवस्था यकिन गर्न कठिन भएको कम्पनीले जनाएको छ। घटनालगत्तै नेपाली सेना र हेलिकप्टरको सहयोगमा खोजी तथा उद्धार सुरु गरिएको थियो। नेपाली सेना, सशस्त्र प्रहरी तथा निजी क्षेत्रका उद्धार टोली परिचालन गरिए पनि प्रतिकूल मौसम र भौगोलिक विकटताका कारण खोजी कार्य प्रभावित भएको छ।

फिस्टेल एयरको हेलिकप्टरबाट समेत उद्धार टोली पठाइएको थियो। त्यस्तै, नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन र हिमालय समिट क्लबका दक्ष रक क्लाइम्बरहरूलाई समेत खोजीमा परिचालन गरिएको कम्पनीले जनाएको छ।

पावरहाउसभित्र ठूलो मात्रामा लेदो र ढुङ्गा जमेकाले उद्धार उपकरण भित्र लैजान समस्या भइरहेको छ। नेपाली सेनाको उद्धार टोलीले भदौ २० गतेसम्म पावरहाउसको केही भागमा रेकी गरे पनि सम्पर्कविहीनमध्ये कसैको अवस्थाबारे जानकारी प्राप्त हुन सकेको छैन। कम्पनीले काठमाडौंस्थित कार्यालयमा हेल्प डेस्क स्थापना गरी पीडित परिवारलाई सूचना दिने व्यवस्था मिलाएको जनाएको छ। साथै, ऊर्जा मन्त्रालय, गृह मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी खोजी कार्यलाई तीव्रता दिइएको जनाएको छ।

बाढी आएको १० दिन बितिसक्दा पनि ठूलो संख्यामा कर्मचारी सम्पर्कविहीन रहेकाले परिवारजनमा चिन्ता बढेको छ। कम्पनीले उपलब्ध सबै स्रोतसाधन प्रयोग गरी खोजी तथा उद्धार कार्य जारी राख्ने जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×