नेपाल भ्रमणमा सतर्कता अपनाउन अमेरिकाको आग्रह

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २१, आइतबार १०:०५

काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपालका लागि जारी गरेको ‘ट्राभल एडभाइजरी’ परिमार्जन गर्दै आफ्ना नागरिकलाई नेपाल भ्रमणका क्रममा बढी सतर्कता अपनाउन आग्रह गरेको छ। अमेरिकी विदेश मन्त्रालयले सेप्टेम्बर ४, २०२६ मा जारी गरेको नयाँ यात्रा सुझावमा नेपाललाई ‘लेभल २–बढी सतर्कता अपनाउनुहोस्’ श्रेणीमा राखेको छ। रसुवा जिल्लाका केही क्षेत्रलाई भने ‘लेभल ४–यात्रा नगर्नुहोस्’ श्रेणीमा राखिएको छ।

अमेरिकाले विशेषगरी रसुवागढी–टिमुरे–स्याफ्रुबेँसी क्षेत्र तथा नेपाल–चीन सीमा नाकामा यात्रा नगर्न आग्रह गरेको छ। ठूलो बाढी र पहिरोका कारण उक्त क्षेत्रमा व्यापक क्षति पुगेको, यातायात तथा सञ्चार सेवा प्रभावित भएको र खोज, उद्धार तथा पुनःस्थापनाको काम जारी रहेकाले जोखिम उच्च रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। यात्रा सुझावमा ती क्षेत्रमा थप बाढी र पहिरोको सम्भावना रहेको उल्लेख गर्दै भोटेकोशी, त्रिशूली र नारायणी नदी आसपासका बस्ती, नदी किनार, होचा भूभाग, क्षतिग्रस्त पुल तथा अस्थिर भिरालो क्षेत्रबाट टाढा रहन यात्रुलाई आग्रह गरिएको छ।

Advertisement

त्यस्तै, नेपाली अधिकारीले जारी गरेका उद्धार, विस्थापन तथा सुरक्षा निर्देशन पालना गर्न र हराइरहेका आफन्त वा व्यक्तिको खोजीका लागि सर्वसाधारण तथा विदेशी नागरिक आफैं विपद् प्रभावित क्षेत्रमा प्रवेश नगर्न अमेरिकी विदेश मन्त्रालयले चेतावनी दिएको छ। अमेरिकी यात्रा सुझावमा नेपाललाई भूकम्प, बाढी र पहिरोको जोखिममा रहेको मुलुकका रूपमा उल्लेख गरिएको छ। भूकम्प अचानक र पूर्वसूचनाबिनै आउन सक्ने तथा काठमाडौँ उपत्यकासमेत त्यसबाट प्रभावित हुन सक्ने चेतावनी दिइएको छ।

विशेषगरी जुनदेखि सेप्टेम्बरसम्मको मनसुन अवधिमा भारी वर्षाका कारण अचानक बाढी र पहिरो आउन सक्ने तथा त्यसले सडक अवरुद्ध गर्नुका साथै भवन र पूर्वाधारमा क्षति पुर्‍याउन सक्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। यस्तो अवस्थामा आपत्कालीन उद्धार तथा सहायता प्राप्त गर्नसमेत कठिन हुन सक्ने उसको भनाइ छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×