
काठमाडौं । भदौ १० गते रसुवाको नेपाल–चीन सीमा क्षेत्रबाट भोटेकोशी नदीमा आएको भीषण बाढीले जिल्लाको जनजीवन तहसनहस बनाएको छ । बाढी र पहिरोमा परी १ हजार ३४१ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४ हजार ४४ जना अझै सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीले भदौ २१ गते बिहान ७ः४० बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढी तथा पहिरोमा बेपत्ता भएकामध्ये १ हजार ३४१ जनाको मृत्यु पुष्टि भएको जनाएको हो । जिल्लाबाट प्राप्त विवरणमा भने अझै ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेको देखिएको छ। यसले विपद्को वास्तविक मानवीय क्षति अझै बढ्न सक्ने देखाएको छ ।
भोटेकोशीमा आएको बाढीले रसुवाका बस्ती, सडक, पुल, जलविद्युत् आयोजना तथा सार्वजनिक संरचनामा व्यापक क्षति पुर्याएको छ । ल्हेन्दे खोला हुँदै आएको बाढीले छोटो समयमै ठूलो भूभाग प्रभावित पारेपछि उद्धार र राहत कार्य चुनौतीपूर्ण बनेको छ । सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढी र पहिरोमा फसेका १ हजार ३१३ जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये १ हजार २२७ नेपाली र ८६ विदेशी पर्यटक छन्।
गोसाइँकुण्ड क्षेत्रमा अलपत्र परेका तथा रोकिएका १४५ तीर्थयात्री र स्थानीयलाई हेलिकप्टरमार्फत नुवाकोट र काठमाडौंमा सुरक्षित स्थानान्तरण गरिएको छ। सडक सञ्जाल विच्छेद भएका तथा दुर्गम क्षेत्रमा उद्धार र राहतका लागि हेलिकप्टर परिचालन गरिएको छ ।
तर, सम्पर्कविहीनको खोजी अझै चुनौतीपूर्ण छ । श्रीनाथ गण, ब्राबल ब्यारेकअन्तर्गतका २७ नेपाली सेना, २८ नेपाल प्रहरी र १३ सशस्त्र प्रहरीसहित सरकारी तथा वित्तीय क्षेत्रका कर्मचारीसमेत सम्पर्कविहीन छन् । जिल्लागत विवरणअनुसार रसुवाका १ हजार ३७०, अन्य जिल्लाका १ हजार २६२ तथा २६६ विदेशी पर्यटक अझै सम्पर्कविहीन रहेको प्रशासनले जनाएको छ ।
विपद्का क्रममा विभिन्न स्थानमा भेटिएका १६३ शवमध्ये पाँच जनाको सनाखत भएको प्रशासनले जनाएको छ । अन्य शवको पहिचानका लागि प्रक्रिया अघि बढाइएको छ । सनाखत भएका मृतकमा उत्तरगया–५ का जनक आचार्य, गंगादेवी श्रेष्ठ, पुदुली तामाङ, आशवीर तामाङ, आशिष बानियाँ तथा गोसाइँकुण्ड–६ की छिरिङ ग्याल्मो तामाङ रहेका छन् । पहिचान हुन नसकेका शवको सनाखत तथा आवश्यक परे डीएनए परीक्षणका लागि मुचुल्का उठाउने काम भइरहेको छ ।
बाढीले रसुवाको भौतिक पूर्वाधारमा समेत गम्भीर क्षति पुर्याएको छ। प्रारम्भिक विवरणअनुसार १ हजार ५०० निजी घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । त्यस्तै, २८ सरकारी तथा सार्वजनिक निकायका भवन, आठ सामुदायिक विद्यालय, तीन निजी विद्यालय तथा १४ बैंक तथा वित्तीय संस्थाका भवनमा क्षति पुगेको छ ।
जिल्लाको यातायातको मेरुदण्ड मानिने ४१ किलोमिटर राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएको छ । बाढीले छ पक्की मोटरेबल पुल, आठ ट्रस तथा बेलीब्रिज, एक आर्च पुल र १० झोलुङ्गे पुलमा क्षति पुर्याएको छ । जलविद्युत् क्षेत्रमा पनि ठूलो क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार जिल्लाका आठ जलविद्युत् आयोजनामा बाढीले क्षति पुर्याएको छ ।
बाढी र पहिरोका कारण थातथलोबाट विस्थापित ७ हजार ३३ जनालाई १२ वटा सुरक्षित आश्रयस्थलमा राखिएको छ । धुन्चेस्थित सिटी सेन्टर, कोमिन श्यामे वाङ्फेल माध्यमिक विद्यालय र गणेश आधारभूत विद्यालयलगायत स्थानमा आश्रय लिएका नागरिकका लागि खाना तथा बसोबासको व्यवस्था गरिएको छ ।
विपद्पछिको राहत अभियानअन्तर्गत प्रभावित क्षेत्रमा हालसम्म १३६ पटक राहत सामग्री वितरण गरिएको प्रशासनले जनाएको छ । अत्यावश्यक सेवा पुनःस्थापनाको काम पनि जारी छ । हालसम्म ८३ प्रतिशत जनसंख्यामा विद्युत् सेवा पुनः सञ्चालन भएको तथा नेपाल टेलिकमको सञ्चार सेवा जिल्लाका सबै क्षेत्रमा सञ्चालनमा ल्याइएको प्रशासनले जनाएको छ ।
भोटेकोशीको बाढीले रसुवामा भौतिक संरचनासँगै हजारौं परिवारको जीवन, बासस्थान र भविष्यसमेत अनिश्चित बनाएको छ । मृत्यु पुष्टि हुने तथा सम्पर्कविहीनको संख्या फेरबदल भइरहेकाले विपद्को अन्तिम मानवीय क्षतिको यकिन विवरण आउन अझै समय लाग्ने देखिन्छ ।



















