सेनासँग मिल्दोजुल्दो संरचना बनाएको ‘ग्रीन आर्मी’को कानुनी अस्तित्व समाप्त

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २१, आइतबार १८:३६

काठमाडौं । नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक, दर्ज्यानी चिह्न र संरचना प्रयोग गरेको भन्दै विवादमा आएको ‘ग्रीन आर्मी’ नामक संस्थाको दर्ता खारेज भएको छ । दर्ता खारेजसँगै ‘ग्रीन आर्मी’को कानुनी अस्तित्व समाप्त भएको छ ।

भोटेकोशी नदीमा आएको बाढीपछि सैनिक शैलीको पोसाकमा संस्थाका सदस्यहरू फिल्डमा देखिएपछि ‘ग्रीन आर्मी’ चर्चामा आएको थियो । गैरनाफामूलक कम्पनीका रूपमा दर्ता भएको उक्त संस्थाले सुरक्षा निकायसँग समानान्तर संरचना र गतिविधि सञ्चालन गर्न खोजेको हो कि भन्ने प्रश्न उठेको थियो ।

Advertisement

सैनिक स्रोतका अनुसार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता रहेको ‘ग्रीन आर्मी’को दर्ता हालै खारेज गरिएको हो । दर्ता खारेजीसँगै कम्पनीका नाममा सञ्चालन भइरहेका गतिविधिको कानुनी आधारसमेत समाप्त भएको छ ।

‘ग्रीन आर्मी’ २०७७ साउनमा कम्पनी रजिष्ट्रारको कार्यालयमा गैरनाफामूलक कम्पनीका रूपमा दर्ता भएको थियो । कम्पनी दर्ताका क्रममा विद्यालय तहका विद्यार्थीलाई वातावरण संरक्षण, फोहोर व्यवस्थापन, प्राथमिक उपचार तथा विपद् व्यवस्थापनसम्बन्धी तालिम दिने र आवश्यक अवस्थामा परिचालन गर्ने उद्देश्य राखिएको थियो ।

तर, संस्थाले प्रयोग गरेको नाम, पोसाक र संगठनात्मक संरचनाले भने विवाद निम्त्याएको थियो । संस्थाका सदस्यहरूले नेपाली सेना तथा सशस्त्र प्रहरीको शैलीसँग मिल्दोजुल्दो हरियो प्यारामिलिटरी पोसाक लगाउने गरेका थिए । त्यस्तै, मार्शल, क्याडेटलगायतका दर्जा र दर्ज्यानी संरचनासमेत प्रयोग गरिएको थियो ।

उक्त पोसाक प्रयोगका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको देखिएको थियो । त्यसका लागि रक्षा मन्त्रालय र गृह मन्त्रालयको समेत स्वीकृति लिइएको उल्लेख छ । सैनिक अधिकारीहरूका अनुसार तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपाली सेनाका मेजर जनरल अनन्तबहादुर कार्कीबाट समेत त्यससम्बन्धी अनुमति दिइएको थियो ।

तर, तत्कालीन प्रधानसेनापति थापाले आफूबाट दिइएको अनुमति सच्याउन जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई अनुरोध गरेको सैनिक अधिकारीहरूको भनाइ छ । त्यसपछि पनि अनुमति कार्यान्वयनमा रहेको विषय अहिले पुनः चर्चामा आएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले उक्त संस्थालाई सैनिक शैलीको पोसाक प्रयोग गर्न कसरी अनुमति दिइयो भन्ने विषयमा प्रशासनले अध्ययन गरिरहेको बताए । उनका अनुसार अनुमति दिने प्रक्रियाका बारेमा आवश्यक जानकारी संकलन भइरहेको छ ।

यता ‘ग्रीन आर्मी’ समाज कल्याण परिषद्सँग समेत आबद्ध थियो । परिषद्का सदस्यसचिव चक्रबहादुर बुढाका अनुसार संस्था सामाजिक कामका लागि परिषद्मा आबद्ध भएको थियो । दर्ता खारेज भए पनि परिषद्को आबद्धता स्वतः खारेज हुने वा नहुने विषयमा छुट्टै प्रक्रिया आवश्यक पर्ने उनको भनाइ छ ।

सुरक्षा मामिलाका जानकार तथा नेपाली सेनाका पूर्वअधिकारीहरूले भने सेना वा सुरक्षा निकायसँग भ्रम सिर्जना हुने गरी नाम, पोसाक र संगठनात्मक स्वरूप प्रयोग गर्नु गम्भीर विषय भएको बताएका छन् । उनीहरूका अनुसार राष्ट्रिय सेवा दलले समेत आफ्नो नाममा ‘आर्मी’ शब्द प्रयोग नगरेको अवस्थामा निजी कम्पनी वा गैरसरकारी संस्थाले सेनाकै स्वरूप झल्काउने संरचना निर्माण गर्नु उचित मानिँदैन ।

‘ग्रीन आर्मी’को प्रमुख सल्लाहकारमा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल रहेको बताइएको छ । संस्थाको दर्तादेखि नै कानुनी व्यवस्थाका विभिन्न तह प्रयोग गरेर कम्पनीका रूपमा दर्ता गर्ने, प्रशासनबाट पोसाकको अनुमति लिने र समाज कल्याण परिषद्मा आबद्ध हुने प्रक्रिया अघि बढाइएको देखिएको अधिकारीहरूको भनाइ छ ।

कानुनका जानकारहरू भने एउटै संस्थाले फरक–फरक निकायबाट छुट्टाछुट्टै प्रकृतिका स्वीकृति लिएर सैन्य शैलीको संरचना सञ्चालन गर्नु कानुनी व्यवस्थाबीचको अन्तरको फाइदा उठाउने प्रयास हुन सक्ने बताउँछन् ।

यसैबीच, गैरनाफामूलक कम्पनीका रूपमा दर्ता भएर सामाजिक गतिविधि गर्दै आएका अन्य संस्थाको नियमनमाथि समेत प्रश्न उठ्न थालेको छ । गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित ‘हामी नेपाली’ नामक संस्था पनि गैरनाफामूलक कम्पनीका रूपमा दर्ता भएर सामाजिक गतिविधिमा सक्रिय रहेको विषयसमेत यही प्रसंगमा उठाइएको छ ।

तपाइको प्रतिक्रिया
बाढी प्रभावित बस्तीमा ड्रोनमार्फत खाद्यान्न ढुवानी सुरु
बाढी प्रभावित बस्तीमा ड्रोनमार्फत खाद्यान्न ढुवानी सुरु
न्यायाधीश नियुक्तिको सम्पूर्ण अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छ: डा. विपिन अधिकारी
राधाकृष्ण रथयात्राको भिडमा प्रहरीको ‘एक्सन’, १७ जनामाथि अनुसन्धान हुँदै
सिंहदरबारमा ‘जेनजी सहिद स्मारक पार्क’को शिलान्यास, भदौ २३ गते सार्वजनिक बिदा
सिंहदरबारमा ‘जेनजी सहिद स्मारक पार्क’को शिलान्यास
सेनासँग मिल्दोजुल्दो संरचना बनाएको ‘ग्रीन आर्मी’को कानुनी अस्तित्व समाप्त
बालेनको अमेरिका भ्रमणमा ११ जनाभन्दा बढी नहुने, महासभामा जलवायु विपद्को मुद्दा उठाउने
पत्रकार महासंघ मोरङले तीज कार्यक्रमको खर्च भोटेकोशी बाढी पीडितलाई दिने 
राप्रपाका महामन्त्री पाठकद्वारा पार्टीका सबै जिम्मेवारीबाट अलग हुने घोषणा
राधाकृष्ण रथयात्रामा उठ्यो २ लाख ८२ हजार भेटी, भोटेकोशी बाढीपीडितका लागि पठाइने
विराटनगरको राधाकृष्ण रथयात्रा : हजारौँको भिडमा हराए बालबालिका, प्रहरीको पहलमा भेटिए अभिभावक
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×