निजामती सेवा दिवसका कार्यक्रम रद्द, खर्च बाढीपीडितलाई

Share this
779shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २२, सोमबार ०९:४९

काठमाडौं । सरकारले यस वर्षको २३औँ निजामती सेवा दिवसका सबै औपचारिक कार्यक्रम रद्द गरेको छ । रसुवागढीस्थित नेपाल–चीन सीमाक्षेत्रमा आएको भोटेकोशी बाढीबाट उत्पन्न विपद्का कारण मुलुक शोकमा रहेकाले कार्यक्रम रद्द गरिएको हो ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार निजामती सेवा दिवस मूल समारोह समितिको बैठकले दिवसका लागि तय गरिएका सबै कार्यक्रम रद्द गर्ने निर्णय गरेको हो । बाढी तथा अन्य विपद्को खोज, उद्धार र राहतमा राष्ट्रसेवक कर्मचारी तथा सुरक्षाकर्मी खटिनुपर्ने अवस्थालाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

Advertisement

विगतका वर्षमा निजामती सेवा दिवसका अवसरमा प्रभातफेरी, वृक्षारोपण तथा उत्कृष्ट कर्मचारीलाई पुरस्कार वितरणलगायतका कार्यक्रम हुँदै आएका थिए । यस वर्ष भने दिवसका लागि विनियोजित बजेटसमेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको छ ।

भोटेकोशी बाढीमा निजामती सेवामा कार्यरत केही कर्मचारीको ज्यान गएको तथा केही अझै बेपत्ता रहेको अवस्थामा सरकारले दिवसका कार्यक्रमभन्दा खोज, उद्धार र राहतलाई प्राथमिकता दिएको हो ।

नेपालमा तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको सरकारले २०१३ भदौ २२ गते निजामती सेवा ऐन ल्याएको दिनको स्मरणमा हरेक वर्ष भदौ २२ गते निजामती सेवा दिवस मनाइन्छ । औपचारिक रूपमा भने २०६२ भदौ २२ गतेदेखि दिवस मनाउन थालिएको हो । हाल नेपालमा करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×