
काठमाडौं । आज (मंगलबार) जेनजी सहिद दिवस मनाइँदै छ । गत वर्ष भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।
जेनजी आन्दोलनले नेपालको राजनीतिमा ठूलो उथलपुथल ल्याएको थियो । आन्दोलनपछि तत्कालीन सरकार विघटन भएको थियो भने पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो ।
आन्दोलनमा ज्यान गुमाएका युवाको योगदान र बलिदानको सम्मान गर्दै सरकारले हरेक वर्ष भदौ २३ गतेलाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको हो । यही भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
सरकारको निर्णयअनुसार आज देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकाय बन्द रहनेछन् ।

























