
काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा र नुवाकोटका जलविद्युत् आयोजना क्षेत्रमा भोटेकोशी बाढीपछि बेपत्ता भएकाहरूको खोज तथा उद्धार कार्य अन्तिम समयसम्म निरन्तर जारी राख्ने बताएका छन् । भदौ १० गते लाङटाङ हिमालको करिब ५ हजार ६ सय मिटर उचाइबाट हिमपहिरो खसेपछि आएको लेदोसहितको बाढीले रसुवागढी, लाङटाङ, चिलिमे, माथिल्लो त्रिशूली-१, त्रिशूली-३ ‘ए’ र त्रिशूली-३ ‘बी’ लगायत जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको थियो ।
प्रधानमन्त्री शाहका अनुसार बाढीका कारण सुरुङ र अन्य संरचना पुरिएकाले खोज तथा उद्धार निकै चुनौतीपूर्ण बनेको छ । रसुवागढीमा हेलिकप्टरबाट मिनी एक्साभेटर पुर्याएर खोजी भइरहेको छ । लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा ग्यास वेल्डिङबाट प्वाल बनाएर प्रवेश गर्दा दुई शव फेला परेका छन् । चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा नेपाली सेना र भारतीय विशेषज्ञ टोलीले दलदल पन्छाउँदै करिब ९० मिटर भित्रबाट दुई शव निकालेको शाहले बताएका छन् ।
माथिल्लो त्रिशूली–१ मा नेपाली सेना, चिनियाँ र कोरियाली विशेषज्ञ टोलीले थर्मल ड्रोनको सहयोगमा खोजी जारी राखेको छ। त्यहाँ एक जनाको जीवितै उद्धार गरिएको छ भने तीन शव फेला परेका छन् । नुवाकोटस्थित त्रिशूली–३ ‘ए’ मा विस्फोटक पदार्थ र कम्प्रेसरसहितका उपकरण हेलिकप्टरमार्फत पुर्याएर सुरुङ खोलिएको थियो । त्यहाँबाट भदौ १९ गते दुई जनाको सकुशल उद्धार गरिएको थियो भने एक शव फेला परेको थियो ।
त्रिशूली–३ ‘बी’ आयोजनाको अडिट सुरुङभित्र १.७ किलोमिटर प्रवेश गर्दा एउटा गाडी भेटिएको छ । त्यहाँ करिब १५ मिटर गहिराइसम्म पुरिएका ६ आवासीय र एउटा कार्यालय भवनको उत्खनन भइरहेको छ । प्रधानमन्त्री शाहले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विदेशी प्राविधिक विशेषज्ञ जोखिम मोलेर खोज तथा उद्धारमा खटिएको बताएका छन् । राज्यसँग उपलब्ध स्रोतसाधनको सीमाका बाबजुद खोजी र उद्धारमा कुनै कसर बाँकी नराख्ने उनको प्रतिबद्धता छ ।

























