
काठमाडौं । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले बाढीपीडितका लागि एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ ।केन्द्रले बाढी प्रभावित समुदायको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा उक्त रकम जम्मा गरेको हो । केन्द्रका तर्फबाट राजयोगिनी दिदी किरणले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई एक करोड एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेकी थिइन् ।
यसैबीच, ब्रह्माकुमारी नेपालले भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली कार्यक्रमसमेत आयोजना गरेको थियो । ललितपुरको सातदोबाटोस्थित वीरन्द्र अन्तर्राष्ट्रिय स्विमिङ कम्प्लेक्सको हलमा आयोजित कार्यक्रममा एक हजारभन्दा बढी राजयोगी, तपस्वी, ब्रह्माकुमारी तथा ब्रह्माकुमार सहभागी भएका थिए ।
कार्यक्रममा सहभागीहरूले ‘ॐ’ ध्वनिसहित योग–तपस्या र मौनधारण गर्दै दीप प्रज्वलन गरेका थिए । उनीहरूले दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनको शान्ति र धैर्यका लागि प्रार्थनासमेत गरेका थिए । रसुवा हुँदै आएको भोटेकोशी नदीको बाढीले रसुवा, नुवाकोटको त्रिशूली र देवीघाट तथा धादिङलगायत क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ ।

























