जेनजी आन्दोलनको एक वर्ष : ‘मूल मुद्दामा अपेक्षित उपलब्धि भएन’

Share this
803shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २३, मंगलबार १०:४९

काठमाडौं । ‘कमन जेनजी नेपाल’ ले जेनजी आन्दोलन भएको एक वर्ष बितिसक्दा पनि आन्दोलनले उठाएका मूल मुद्दामा अपेक्षित उपलब्धि हासिल हुन नसकेको निष्कर्ष निकालेको छ । आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा वक्तव्य जारी गर्दै कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले आन्दोलनपछि राजनीतिक परिवर्तनको अपेक्षा गरिए पनि देशले अपेक्षित निकास पाउन नसकेको बताएका हुन् । बरु समस्याहरू थप जटिल बन्दै गएको उनको भनाइ छ ।

साहले आन्दोलनको उपलब्धिका रूपमा रवि लामिछानेको नख्खु जेलबाट रिहाइ र काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाह प्रधानमन्त्री बन्नुबाहेक आम नागरिकले अनुभूति गर्न सक्ने उल्लेखनीय परिवर्तन नदेखिएको दाबी गरेका छन् ।

Advertisement

‘ऐतिहासिक जेनजी आन्दोलनको जगमा देशले ठूलो राजनीतिक परिवर्तनको अपेक्षा गरेको थियो। तर आन्दोलनको एक वर्ष बितिसक्दा पनि देशले अपेक्षित राजनीतिक निकास पाउन सकेको छैन,’ उनले भनेका छन्, ‘समस्याहरू झन् जटिल बन्दै गएका छन् र परिवर्तनको प्रवाह यथास्थितिको दलदलमै अल्झिएको छ ।’

आन्दोलनअघि आफूलाई वैकल्पिक नेतृत्वका रूपमा प्रस्तुत गरेका व्यक्तिहरू छोटो समयमै आलोचित बनेको साहको टिप्पणी छ । हिजो ‘रामराज्य’को वकालत गर्नेहरू नै अहिले जनअपेक्षाअनुसार अघि बढ्न नसकेको उनले आरोप लगाएका छन् । आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिका घटनामा संलग्नलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्नेमा सरकारले उनीहरूसँगै सहकार्य गरिरहेको साहको आरोप छ । आन्दोलनमा सहभागी युवामाथि झूटा मुद्दा लगाएर दुःख दिने काम भइरहेको उनको दाबी छ ।

त्यस्तै, आन्दोलनका क्रममा घाइते भएका युवालाई राज्यले निःशुल्क र प्रभावकारी उपचार उपलब्ध गराउन नसकेको उनले बताएका छन् । घाइतेहरू आर्थिक अभाव, मानसिक तनाव र शारीरिक पीडाबीच संघर्ष गर्न बाध्य भएको उनको भनाइ छ ।वर्तमान सरकारले जेनजी आन्दोलनमा युवाले गरेको बलिदानलाई राजनीतिक स्वार्थ पूरा गर्ने माध्यम बनाएको आरोप पनि साहले लगाएका छन् । युवाका लागि आवश्यक नीतिगत तथा संरचनागत सुधार नगरी ‘जेनजी’का नाममा सार्वजनिक बिदा घोषणा गर्नेजस्ता प्रतीकात्मक कदममा सरकार केन्द्रित भएको उनको भनाइ छ ।

साहले आन्दोलनका बाँकी मुद्दा तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । घाइतेहरूको सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्नुपर्ने, आन्दोलनकारीमाथि लगाइएका झूटा मुद्दा बिनासर्त खारेज गर्नुपर्ने र भ्रष्टाचारमा संलग्नमाथि कडा कारबाही गर्नुपर्ने उनको माग छ । जेनजी युवाका लागि दीर्घकालीन नीतिगत तथा संरचनागत सुधार गर्न पनि उनले सरकारलाई आग्रह गरेका छन् । सार्वजनिक बिदा घोषणा गरेर मात्र आन्दोलनको भावना सम्बोधन नहुने भन्दै उनले युवाका मागअनुसार ठोस काम गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

तपाइको प्रतिक्रिया
परिवर्तनको आशा, परिणामको प्रतीक्षा
भोटेकोशी बाढीमा हराएका ५८७ विदेशी पर्यटक अझै फेला परेनन्
बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने घोषणा
अलैँचीको मूल्य प्रतिमन ८५ हजार
‘प्रतिक्रियावादी शक्तिहरू बलिदानबाट प्राप्त उपलब्धिलाई निमिट्यान्न पार्ने प्रयासमा’
जेनजी आन्दोलनको एक वर्ष : ‘मूल मुद्दामा अपेक्षित उपलब्धि भएन’
बाढीपीडितका लागि ब्रह्माकुमारी नेपालद्वारा एक करोड एक लाख सहयोग
जेनजी आन्दोलनबारे आयोगको सिफारिस तत्काल कार्यान्वयन गर्न कांग्रेसको माग
शान्ति कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजा आराधना
इटहरी प्रहरी हिरासतमा थुनुवाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×