
काठमाडौं । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीमा हराएका ३४ देशका ५८७ विदेशी पर्यटक अझै फेला पर्न सकेका छैनन् । पर्यटन विभागका अनुसार उनीहरू कैलाश मानसरोवर तथा जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड गएका बेला बाढीमा परेर सम्पर्कविहीन भएका हुन् ।
विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार हराइरहेका विदेशी पर्यटकमा २५६ पुरुष, ३२९ महिला र दुई जना अन्य छन् । सबैभन्दा धेरै भारतका १८४ जना छन् । त्यसपछि अमेरिकाका ६७, मलेसियाका ५५, युक्रेनका ५४, अष्ट्रेलिया र लाटभियाका ३३–३३, बेलायतका ३२, क्यानडाका ३० र चीनका २६ जना छन् ।
यसैगरी, बाढीमा परेर नेपालका १८८ पर्यटक पनि अझै फेला परेका छैनन् । उनीहरूमध्ये १६१ पुरुष र २७ महिला छन् । कैलाश मानसरोवर तथा गोसाइँकुण्ड जाने नेपाली पर्यटक र विदेशी पर्यटकका सहयोगीसमेत हराइरहेको विभागले जनाएको छ । विभागका अनुसार बाढीपछि हालसम्म ३०७ विदेशी पर्यटकको उद्धार गरिएको छ । उद्धार हुनेमा २५४ पुरुष र ५३ महिला छन् । सम्पर्कविहीनमध्ये सात जना भने सम्पर्कमा आएका छन् ।
भोटेकोशी बाढीपछि हराइरहेका पर्यटकको खोजी तथा प्रभावित क्षेत्रमा उद्धार र राहतको काम जारी रहेको विभागले जनाएको छ ।

























