
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि उत्पन्न परिस्थिति, खोज तथा उद्धार, राहत वितरण, घाइतेको उपचारलगायत समग्र अवस्थाबारे विस्तृत जानकारी लिन र आवश्यक निर्देशन दिन प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखहरूसँग छलफल थालेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज (बुधबार) दिउँसो नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल भइरहेको छ ।
भोटेकोशीमा आएको बाढीका कारण जनधनको क्षति हुनुका साथै सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेको छ । बाढी प्रभावित क्षेत्रमा बेपत्ता भएकाको खोजी, उद्धार तथा प्रभावितलाई राहत उपलब्ध गराउने काम जारी रहेका बेला प्रधानमन्त्रीले सुरक्षा निकायबाट स्थलगत अवस्थाबारे जानकारी लिन लागेका हुन् ।
प्रधानसेनापति सिग्देलसँगको छलफललगत्तै प्रधानमन्त्री शाहले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि छलफल गर्ने कार्यतालिका रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
छलफलमा बाढी प्रभावित क्षेत्रमा सुरक्षा निकायले गरिरहेको खोज तथा उद्धार कार्य, राहत वितरणको अवस्था, घाइतेको उद्धार तथा उपचार, जोखिममा रहेका बस्तीको सुरक्षा र आगामी दिनमा अपनाउनुपर्ने सावधानीलगायत विषयमा जानकारी लिने तथा आवश्यक समन्वय र निर्देशन हुने बताइएको छ ।

























