जेनजी आन्दोलनको मर्मअनुसार सरकार र दलले काम गर्नुपर्ने सांसदहरूको जोड

Share this
760shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २४, बुधबार १५:०३

काठमाडौं । प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्ने सांसदहरूले गत वर्षको जेनजी आन्दोलन सरकार परिवर्तनका लागि नभई सुशासन र विधिको शासन स्थापित गर्न भएको भन्दै आन्दोलनको मर्म र भावनाअनुरूप सरकार तथा राजनीतिक दलले काम गर्नुपर्ने बताएका छन् । आकस्मिक समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुरुषोत्तम शुभप्रभात यादवले जेनजी आन्दोलनका माग र भावनाअनुसार सरकारले काम गर्नुपर्ने बताए । उनले आन्दोलनमा सहभागीलाई नै पक्राउ तथा थुनामा राख्ने काम भइरहेको भन्दै त्यस्ता कार्य तत्काल सच्याउन माग गरे ।

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले जेनजी आन्दोलन सरकार परिवर्तनका लागि नभई राजनीतिक शैली परिवर्तनसहित सुशासन र विधिको शासन कायम गर्न भएको बताए । आन्दोलनको भावनाअनुसार राज्यका सबै पक्षले काम गर्नुपर्ने उनको भनाइ थियो । उनले बजारमा उपभोग्य वस्तुको अभाव देखिन थालेको उल्लेख गर्दै विपत्तिको सामना गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताए । नुवाकोट, रसुवा र धादिङको सडक सञ्जाल पुनःस्थापनामा विशेष ध्यान दिन पनि उनले सरकारको ध्यानाकर्षण गराए ।

Advertisement

कांग्रेसकै सांसद बासना थापाले रसुवामा बाढी आएको दुई साता बितिसक्दा पनि सयौँ बेपत्ता नागरिकको प्रभावकारी खोजी हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । बेपत्ताका परिवारले अझै पीडा भोग्नुपरेको उनले बताइन् । रास्वपाका सांसद क्रान्तिशिखा धितालले बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम बढेको तथा होल्डिङ सेन्टरमा महिला र बालबालिकाको सुरक्षा थप चुनौतीपूर्ण बनेको बताइन् ।

नेकपा (एमाले) का सांसद गणेशसिंह ठगुन्नाले हालैको अविरल वर्षाका कारण दार्चुलालगायतका क्षेत्रमा बस्ती प्रभावित भएको जानकारी गराउँदै विपद्को पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन र महाकाली नदीमा तटबन्ध निर्माणमा ध्यान दिन सरकारसँग आग्रह गरे । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद पार्वती विकले जेनजी आन्दोलनले बोकेको परिवर्तनको संकल्प सरकारले कति पूरा गर्न सक्यो वा सकेन भन्नेबारे समीक्षा गर्न आवश्यक रहेको बताइन् ।

कांग्रेसका सांसद सीता थपलियाले बाढी प्रभावित क्षेत्रमा बेलीब्रिज निर्माण गरी सडक सम्पर्क पुनःस्थापना गर्न माग गरिन् । कांग्रेसकै सांसद खड्गबहादुर शाहीले मुगुको छायानाथ रारा नगरपालिकाको घट्टेखोलामा आएको बाढीका कारण स्थानीयवासीले भोग्नुपरेको समस्याबारे सदनलाई जानकारी गराए । एमालेका सांसद डा. अर्जुनकुमार कार्कीले सम्भावित जोखिमयुक्त हिमतालको अध्ययन गरी प्रभावित क्षेत्रका नागरिकलाई जोखिमबारे सचेत गराउन आवश्यक रहेको बताए ।

रास्वपाका सांसद यज्ञमणि न्यौपानेले शक्ति राष्ट्रहरूले अन्तर्राष्ट्रिय कानुनको पालना नगर्दा नेपालले जलवायु परिवर्तनको मार खेपिरहेको बताए । जेनजी आन्दोलनमा सहभागी भएका व्यक्तिले अहिले पनि कारागार र अदालत धाउनुपर्ने अवस्था अन्त्य गरिनुपर्ने उनको धारणा थियो ।

तपाइको प्रतिक्रिया
बाढीमा बेपत्ताको खोजी जारी, सुखद समाचारको आशा मारेका छैनौँ : लामिछाने
लहानमा पेस्तोलसहित ३ जना पक्राउ 
लागुऔषध मुद्दाका फरार प्रतिवादी पुनः लागुऔषधसहित पक्राउ
जेनजी आन्दोलनको मर्मअनुसार सरकार र दलले काम गर्नुपर्ने सांसदहरूको जोड
भोटेकोशी बाढीः ज्यान गुमाउनेको संख्या १ हजार ३६७ पुग्यो
सालको काठ चिरान गरिरहेका दुई जना इलाममा पक्राउ
प्रधानमन्त्री शाहद्वारा बाढीपछिको अवस्थाबारे सुरक्षा प्रमुखहरुसँग छलफल
लोमान्थाङमा २४ घण्टामा ७ पटक भूकम्प, अधिकांश घर चर्किए
जेनजी आन्दोलनमाथिको दमन र हिंसाबारे निष्पक्ष छानबिन गरौँ : प्रचण्ड
राष्ट्रसंघको ८१औँ महासभा सुरु, विश्वव्यापी ऐक्यबद्धतामा नेपालको जोड
हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×