इटहरीमा बालिकालाई सर्पले डस्यो, अस्पताल चहार्दा चहार्दै मृत्यु

Share this
718shares
मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८३ भाद्र २५, बिहीबार ०८:०४

विराटनगर । घरभित्रै खेलिरहेका बेला गोमन सर्पले डसेकी सुनसरीको इटहरीकी ८ वर्षीया बालिकाको अस्पताल चहार्दा चहार्दै मृत्यु भएको छ । समयमै सर्पदंशको उपचार र आवश्यक पीआईसीयू सेवा पाउन नसक्दा इटहरी उपमहानगरपालिका–५ का अस्मित चौहानकी छोरी आस्वाना चौहानको मृत्यु भएको हो ।

घरभित्र खेल्ने क्रममा बुधबार साँझ गोमन सर्पले आस्वानाको बायाँ हातमा टोकेको थियो । सर्पले टोकेको कुरा उनले तत्काल अभिभावकलाई जानकारी गराइनन् । अवस्था गम्भीर बन्दै गएपछि मात्रै परिवारले थाहा पाएको थियो ।

Advertisement

परिवारका अनुसार बालिकाले सर्पले टोकेको जानकारी दिएपछि हेर्दा टोकेको हातबाट रगत बगिरहेको थियो । तत्काल उनलाई नेपाली सेनाले इटहरीमा सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रतर्फ लगिएको थियो । उपचार केन्द्रमा करिब ६ बजेतिर पुर्याइएको अभिभावकले बताएका छन् । तर, त्यहाँ १३ वर्षमुनिका बालबालिकालाई उपचार गर्न नसकिने जानकारी गराइएको परिवारको भनाइ छ ।

बालिकालाई सर्पदंश केन्द्र लैजाँदै गर्दा बान्तासमेत भएको थियो । त्यसपछि उनलाई तत्काल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको काका मनीराज चौहानले बताए । उनका अनुसार प्रतिष्ठानमा उपचार सुरु भए पनि पीआईसीयू (बाल सघन उपचार कक्ष) खाली नभएको जानकारी गराइयो । सर्पको विषका कारण अवस्था गम्भीर बनेकी बालिकालाई पीआईसीयूमा राखेर उपचार अघि बढाउनुपर्ने चिकित्सकले बताए पनि प्रतिष्ठानमा तत्काल पीआईसीयू सेवा उपलब्ध हुन सकेन ।

त्यसपछि अभिभावकले थप उपचारका लागि बालिकालाई मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालतर्फ लगेका थिए । साँझ करिब ७ः५० बजे अस्पताल पुर्याइएकी बालिकालाई चिकित्सकले करिब ८ः१७ बजेतिर मृत घोषणा गरेका हुन् ।

काका मनीराजका अनुसार सुरुमा आस्वाना बोलिरहेकी थिइन् । सर्पले टोकेको हातबाट रगत बगिरहेको थियो । सर्पदंश केन्द्रतर्फ लैजाँदै गर्दा उनको अवस्था बिग्रिँदै गएको थियो ।

‘हामीले तत्काल अस्पताल पुर्यायौं । छोरी सुरुमा बोल्दै थिइन् । अस्पताल पुर्याउन लाग्दा बान्ता भयो । अवस्था गम्भीर बन्दै गयो । सर्पदंश केन्द्रमा उपचार हुन सकेन । त्यसपछि धरान लगियो । त्यहाँ उपचार त सुरु भयो । तर, पीआईसीयू खाली नभएको जानकारी गराइयो । हामीले हतारहतार विराट टिचिङ ल्यायौं । तर, छोरीलाई बचाउन सकिएन,’ मनीराजले भने ।

उनका अनुसार सर्पले टोकेको समयमै थाहा नहुँदा बालिकाको अवस्था गम्भीर बनिसकेको थियो । त्यसपछि उपचारका लागि एकपछि अर्को अस्पताल पुर्याउँदा थप समय बित्यो । ‘अस्पताल चहार्दा चहार्दै हामीले छोरी गुमायौं । परिवारमा ठूलो बज्रपात परेको छ,’ मनीराजले भने ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता प्रा.डा. शम्शेर श्रेष्ठले पीआईसीयू खाली नभएकाले बालिकालाई रेफर गर्नु परेको बताए । उनका अनुसार प्रतिष्ठानमा चारवटा पीआईसीयू छन् ।

‘प्रतिष्ठानमा चार वटा पीआईसीयू छन् । खाली भएको भए बालिकालाई तत्काल उपचार सुरु गर्ने थियौं । प्रतिष्ठान ल्याउँदा नै अवस्था गम्भीर बनिसकेको थियो । तर, पीआईसीयू उपलब्ध गराउन सकेनौं । हामीलाई पनि दुःख लागेको छ,’ उनले भने ।

बालिकालाई डसेको सर्पलाई स्थानीयले नियन्त्रणमा लिएर बट्टामा राखेका थिए । बट्टामा राखिएपछि सर्प मरेको परिवारले जनाएको छ । आस्वानाको शव विराट शिक्षण अस्पतालमै राखिएको छ।

सर्पदंशको उपचारका लागि एक ठाउँबाट अर्को ठाउँमा लैजाँदै गर्दा छोटो समयमै बालिकाको ज्यान गएको घटनाले सर्पदंश उपचारको उपलब्धता र बालबालिकाका लागि आवश्यक सघन उपचार सेवाको अवस्थामाथि पनि प्रश्न उठाएको छ । विशेषगरी विषालु सर्पको टोकाइपछि तत्कालै आवश्यक उपचार, निगरानी र पीआईसीयू सेवा उपलब्ध हुन नसक्दा उपचारमा हुने ढिलाइ ज्यानकै लागि घातक बनेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×