
विराटनगर । भोटेकोशी बाढीपीडित परिवारका लागि विराटनगरका दास दाजुभाइले करिब १ लाख ४१ हजार रुपैयाँ बराबरको झुल राहतस्वरूप पठाएका छन् ।
सोनुकुमार दास, उनका दाइ सन्तोष दास तथा मांगिलाल दासको पहलमा बाढी तथा विपद्बाट प्रभावित परिवारलाई लक्षित गरी मस्क्युटो नेट (झुल) खरिद गरी रसुवा पठाइएको हो । विपद्का कारण प्रभावित परिवारलाई आवश्यक सहयोग पुर्याउने उद्देश्यले राहत सामग्री पठाइएको सोनुकुमारले बताए ।
जिल्ला प्रशासन कार्यालय मोरङको सहकार्यमा विराटनगर विमानस्थलबाट हवाईमार्ग हुँदै राहत सामग्री रसुवा पठाइएको छ । बुद्ध एयरको विमानमार्फत राहत सामग्री निःशुल्क ढुवानी गरिएको हो ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले विपद्को समयमा पीडित परिवारका लागि सहयोग गर्नु सामाजिक उत्तरदायित्वको महत्वपूर्ण उदाहरण भएको बताए । उनले दास दाजुभाइले मानवीय सेवाको भावनासहित गरेको सहयोग प्रशंसनीय रहेको उल्लेख ।
दास दाजुभाइमध्ये सोनुकुमारको पेसा पत्रकारिता हो । उनी विराटनगरको लाइभ न्यूज रफ्तार नामक अनलाइनका सञ्चालक हुन् ।

























