आगामी तीन दिन नदीमा जलसतह बढ्ने पूर्वानुमान

Share this
764shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २५, बिहीबार १०:२९

काठमाडौं। आगामी तीन दिन देशका प्रमुख तथा साना नदीमा जलसतह उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले आज (बिहीबार) बिहान जारी गरेको बुलेटिनअनुसार कोशी, नारायणी, कर्णाली र महाकालीसहित अधिकांश नदी प्रणालीमा बहाव बढ्नेछ ।

बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल छ । महाशाखाका अनुसार आगामी तीन दिन कोशी, नारायणी, कर्णाली र महाकाली नदी प्रणालीका सम्पूर्ण क्षेत्रमा जलसतह उल्लेख्य बढ्नेछ। कन्काई, बबई र पश्चिम राप्तीमा पनि तीनै दिन बहाव निरन्तर बढ्ने अनुमान छ ।

Advertisement

बागमती र पूर्वी राप्तीमा आज बहाव सामान्य बढे पनि भोलि र पर्सि उल्लेख्य बढ्नेछ । कमला नदीमा आज र भोलि जलसतह उल्लेख्य बढ्ने भए पनि पर्सि सामान्य मात्र बढ्ने पूर्वानुमान छ । आज ताप्लेजुङ, संखुवासभा, ओखलढुङ्गा, सोलुखुम्बु, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, रुकुम पूर्व, रुकुम पश्चिम, मुस्ताङ, मुगु, बाजुरा, बझाङ, दार्चुला र बैतडीका साना नदीमा जलसतह उल्लेख्य बढ्नेछ। ती जिल्लाका साना नदीमा आकस्मिक बाढीको ‘मध्यम जोखिम’ रहने महाशाखाले जनाएको छ ।

भोलि र पर्सि सातै प्रदेशका केही साना नदीमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान छ। महाशाखाले सम्भावित जोखिमबाट बच्न नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×