उद्योगीप्रति मन्त्रीको अभिव्यक्तिमा महासंघको आपत्ति

Share this
748shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २५, बिहीबार १३:१८

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उद्योगी–व्यवसायीप्रति दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ । प्रतिनिधिसभाको उद्योग समितिको बुधबारको बैठकमा एलपी ग्यासको आपूर्ति व्यवस्था र उद्योगी–व्यवसायीका विषयमा मन्त्री यादवले दिएको अभिव्यक्ति आपत्तिजनक र गैरजिम्मेवार रहेको महासंघले जनाएको हो ।

ग्यास आपूर्तिमा देखिएको समस्या समाधान गर्नुपर्ने समयमा मन्त्रीबाट ‘उद्योगीहरूको पाता नफर्काएसम्म ग्यास सहज हुँदैन’ भन्ने अभिव्यक्ति आउनु दुःखद् भएको महासंघले बताएको छ ।
भोटेकोशीमा आएको बाढी र पृथ्वी राजमार्गमा गएको पहिरोका कारण ढुवानी प्रभावित भइरहेका बेला सरकारसँग सहकार्य गरिरहेका व्यवसायीप्रति यस्तो टिप्पणीले मनोबल गिराउने महासंघको भनाइ छ । मन्त्रीको अभिव्यक्तिले सरकार र निजी क्षेत्रबीचको विश्वासमा समेत नकारात्मक असर पर्न सक्ने महासंघले चेतावनी दिएको छ ।

Advertisement

ग्यास उद्योगको संख्या बढी रहेको भन्दै उद्योग खारेज गर्नुपर्ने मन्त्रीको धारणा पनि यथार्थपरक नभएको महासंघले स्पष्ट पारेको छ । सरकार अभिभावक र सहजकर्ताको भूमिकामा रहँदै लगानीको सुरक्षा तथा प्रतिस्पर्धात्मक वातावरण निर्माणमा केन्द्रित हुनुपर्ने महासंघको भनाइ छ । कर्मचारीतन्त्र र निजी क्षेत्रबीच अनुचित मिलेमतो हुने गरेको भन्ने मन्त्रीको भनाइप्रति पनि महासंघले असन्तुष्टि जनाएको छ । नीति निर्माणका क्रममा सरोकारवालासँग छलफल गर्नु स्वाभाविक प्रक्रिया भएको महासंघले जनाएको छ ।

नेपालमा उद्योग सञ्चालन गर्न गाह्रो रहेको मन्त्रीकै स्वीकारोक्तिले विद्यमान चुनौती पुष्टि गरेको भन्दै महासंघले दोषारोपणभन्दा नीतिगत सुधारमा ध्यान दिन सरकारलाई आग्रह गरेको छ । स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न कच्चा पदार्थ र तयारी वस्तुको भन्सार दरमा कम्तीमा दुई तहको फरक हुनुपर्ने आफ्नो माग पनि महासंघले दोहोर्‍याएको छ ।

सरकार र निजी क्षेत्र एकअर्काका प्रतिस्पर्धी नभई आर्थिक विकासका साझेदार भएकाले आपसी विश्वास र निरन्तर संवाद आवश्यक रहेको महासंघले विज्ञप्तिमार्फत जनाएको छ । आर्थिक संकट समाधानका लागि टकराव नभई सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको महासंघको जोड छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×