
स्याङ्जा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकताबद्ध बनाउन आफू अझै नरम भएर अघि बढ्न तयार रहेको बताएका छन् । कांग्रेस स्याङ्जाले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री स्व. गोपालमान श्रेष्ठको ४५औँ पुण्यतिथिमा बिहीबार आयोजना गरेको शोकसभालाई सम्बोधन गर्दै सभापति थापाले पार्टीलाई मजबुत बनाउन सभापतिको हैसियतले जिम्मेवारीपूर्वक अघि बढ्ने बताए ।
‘पार्टीलाई एकताबद्ध गर्नका लागि नरम हुन तयार छु । नरम पनि छु,’ उनले भने, ‘तर पार्टीभित्रका कमी–कमजोरी हटाउन निर्मम भएर पनि अघि बढ्नुपर्नेछ । त्यो सजिलो छैन, तर पार्टी हितका लागि आवश्यक परे निर्मम भएर लाग्छु ।’ पार्टीलाई एकढिक्का बनाएर अघि बढाउनुपर्ने जिम्मेवारी आफूले बुझेको भन्दै थापाले त्यसैअनुसार पार्टीको हितमा काम गर्ने बताए ।
देशमा जटिल परिस्थिति आउँदा नेपाली कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्दै समस्या समाधानका लागि पहल गर्दै आएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि नागरिकमा पार्टीप्रतिको विश्वास र भरोसा जगाउने गरी काम गर्ने बताए ।
स्व. गोपालमान श्रेष्ठले नेपाली कांग्रेसलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै थापाले उनको योगदानको चर्चा गरे । विपद्का बेला सरकारको आलोचना गर्ने उपयुक्त समय नभएको पनि सभापति थापाले बताए ।
शोकसभामा कांग्रेस महामन्त्री प्रदीप पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मालगायतले स्व. श्रेष्ठले पार्टी र लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।

























