मोरङ कारागारका कैदीको मृत्यु

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २६, शुक्रबार १९:४८

विराटनगर । जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक जना कैदीको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ ।

धनकुटाको महालक्ष्मी नगरपालिका–९ घर भई हाल विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा कैद भुक्तान गरिरहेका ४१ वर्षीय गोविन्द भण्डारीको मृत्यु भएको हो । कारागारका निमित्त प्रशासक तुलसी पौडेलका अनुसार भण्डारी लागुऔषध मुद्दाका कैदी थिए ।

Advertisement

लागुऔषध मुद्दामा अदालतले भण्डारीलाई १० वर्ष कैद सजाय र ७५ हजार रूपैयाँ जरिबाना हुने फैसला सुनाएको थियो । अदालतको फैसला अनुसार २०८१ असोज १३ गतेदेखि कैद भुक्तान गरिरहेका उनी २०९१ साउन १५ गतेसम्म कारागारमा बस्नुपर्ने हुन्थ्यो ।

छाती दुख्ने समस्या देखिएपछि भण्डारीलाई उपचारका लागि गत भदौ ५ गते कोशी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा शुक्रबार दिउँसो ३ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरिदिएको कारागारका निमित्त प्रशासक पौडेलले बताए ।

‘तीन सातासम्म लगातार उपचार गराइयो । तर, बचाउन सकिएन । अवस्था जटिल बन्दै गएर कैदीको मृत्यु नै भयो,’ उनले भने । भण्डारीमा फोक्सोसम्बन्धी समस्या रहेको र अन्य स्वास्थ्य समस्या पनि देखिएको पौडेलले बताए । उनका अनुसार शव परिवारलाई जिम्मा लगाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×